आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। आयोगले जनशक्ति र स्रोतको कमीका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने आत्मविश्वास व्यक्त गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले आयोगले मतदाता नामावली संकलन कार्य उत्साहजनक रूपमा अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार मतदाता नामावलीमा नाम दर्ता कात्तिक ३० गतेसम्म गर्न सकिनेछ। साथै, फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदान गर्न पाउने आयोगले स्पष्ट गरेको छ।
प्रवक्ता भट्टराईले अहिले आयोगमा जनशक्ति अभाव भए पनि निर्वाचन सम्पन्न गर्न आयोग कुनै हालतमा पछि नपर्ने बताए। उनले भने, ‘निर्वाचन गराउन सकिँदैन भन्ने छुट आयोगलाई छैन। विगतमा ८६ दिनमै चुनाव सम्पन्न गरेर देखाएका छौँ। अहिले त ६ महिनाको समय थियो, त्यसैले हामीसँग तयारीका लागि पर्याप्त समय छ।’
तर उनले जनशक्ति र आर्थिक स्रोत व्यवस्थापनमा समस्या आए निर्वाचनमा प्रभाव पर्न सक्ने बताए। ‘यदि सरकारले आवश्यक जनशक्ति र स्रोतको व्यवस्था गर्न नसके मात्र शंका गर्न सकिन्छ,’ उनले भने, ‘तर आयोग भने पछि हट्दैन।’
हाल निर्वाचन आयोगमा ३ जना मात्रै पदाधिकारी छन्। संवैधानिक व्यवस्था अनुसार आयोगमा ५ जना पदाधिकारी हुनुपर्ने भए पनि संसदीय सुनुवाइ हुन नसक्दा प्रमुख निर्वाचन आयुक्तको नियुक्ति प्रक्रिया रोकिएको छ।
अहिले आयोगमा रामप्रसाद भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका रूपमा कार्यरत छन् भने सगुन शमशेर जबरा र जानकीकुमारी तुलाधार निर्वाचन आयुक्त रहेका छन्।
प्रवक्ता भट्टराईले जनशक्ति कम भए पनि उपलब्ध कर्मचारीलाई अधिकतम रूपमा प्रयोग गरेर निर्वाचनका सबै तयारी पूरा गर्ने दाबी गरेका छन्।
प्रकाशित: २२ कार्तिक २०८२ १०:२९ शनिबार





