पहिचान भइसके पनि गाडिएका शव आफन्तले तत्काल लैजान नपाउने भएका छन्। गाडिएका शवको डिएनए परीक्षण गरेर पहिचान पुष्टि भएपछि मात्रै आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। चितवनमा गाडिएको शवको पहिचान भएर पनि एउटा परिवार रित्तै फर्किएका छन्।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म हालसम्म चितवनमा २६० वटा शव फेला परिसकेका छन्।
तीमध्ये करिब एक सय शव गाडिसकिएको छ। शव पहिचान भए पनि गाडिसकेका शव डिएनए परीक्षण नगरी आफन्तलाई बुझाउन नमिल्ने भएकाले एउटा परिवार शव नलिई फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए।
जिल्लामा फेला परेका नौ वटा शवको हालसम्म पहिचान भएको छ। ‘नगाडेका शवलाई पहिचान भएपछि हामीले दिएका छौँ। तर गाडेका शव त्यसरी दिन मिल्दैन। डिएनए परीक्षण गरेर पुष्टि भएपछि मात्रै दिन्छौँ,‘पौडेलले भने, ‘आज मात्रै एउटा परिवार शव नलिई फर्किनुभएको छ। उहाँहरूलाई बुझाएर पठाएका छौँ।’
उनका अनुसार नेपालमा डिएनए परीक्षण गर्ने मुख्य व्यवस्था नेपाल प्रहरीको फरेन्सिक ल्याबमा रहेको छ। एउटै ल्याबबाट ठुलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने अवस्था रहेकाले रिपोर्ट आउन लामो समय लाग्न सक्ने प्रहरी अधिकारीहरूको अनुमान छ।
उनीहरूले अहिलेको क्षमताले मात्र परीक्षण गर्दा रिपोर्ट आउन करिब दुई वर्षसम्म लाग्न सक्ने बताएका छन्।
डिएनए परीक्षणलाई छिटो सम्पन्न गर्न सरकारले विदेशबाट दक्ष जनशक्ति तथा प्राविधिक टोली ल्याउने तयारी गरेको बताइएको छ। कोरियाली टोली ल्याएर वा नमुना भारत पठाएर परीक्षण गर्ने विकल्पमा छलफल भइरहेको छ।
‘सरकारले निर्णय गरेमा प्रक्रिया अगाडि बढ्छ। भारत लगेर वा कोरियन टोली आएर परीक्षण गरेमा दुई महिनाभित्र काम सकिने अनुमान छ,’ पौडेलले भने।
उनका अनुसार तत्काल डिएनए परीक्षण गर्न नेपालमै छुट्टै क्षमता र दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले हालको संरचनाबाट ठुलो संख्यामा नमुना परीक्षण गर्न कठिन छ।
डिएनए परीक्षणपछि पहिचान पुष्टि भएका व्यक्तिका शवलाई प्राथमिकताका आधारमा आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।
भरतपुर अस्पतालमा बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको डिएनए नमुना संकलन गर्ने काम जारी छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार एक शवबाट डिएनए नमुना संकलन गर्न १० देखि ३० मिनेटसम्म लाग्ने गरेको छ। उनले डिएनए परीक्षण खर्चिलो र जटिल प्रक्रिया भएकाले सामान्य अस्पतालबाट यस्तो परीक्षण सम्भव नहुने बताए।
नेपालमा यसका लागि आवश्यक दक्ष जनशक्ति पनि पर्याप्त नरहेको उनको भनाइ छ। ‘डिएनए परीक्षण खर्चिलो प्रक्रिया हो। यो सामान्य ल्याब टेस्टजस्तो होइन। भरतपुरजस्ता अस्पतालले डिएनए परीक्षण गर्न सक्दैनन्,’ डा. बगालेले भने।
चितवनमा शव व्यवस्थापन गर्न कठिन भएपछि मंगलबारदेखि शव गाड्न थालिएको प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफन्त तथा परिवारजन चितवन आउने क्रम बढेको छ।
त्रिशूली र नारायणी नदीमा बाढीपछि बगेर आएका शवहरू चितवनमा लगातार भेटिने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १५:१८ आइतबार




-600x400.jpg)
