१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सुनसान रामेछाप विमानस्थल, स्थानीयलाई हवाई सुविधाको माग

पहिले व्यस्त रहने रामेछाप विमानस्थल अहिले सुनसान छ। यहाँ नियमित उडान नहुँदा यस्तो अवस्था आएको हो।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको यो विमानस्थल अहिले हवाईजहाज नचल्दा सुनसान छ। पर्यटकीय सिजनमा मात्र सोलुको लुक्ला जाने बेला यहाँबाट उडान हुन्छ।

त्यतिबेला काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई सडकमार्ग हुँदै मन्थली ल्याइन्छ र हवाईजहाजमार्फत लुक्ला पुर्‍याइन्छ।

दसैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा विभिन्न एयरलाइन्सले अग्रिम बुकिङ खुला गरे पनि रामेछापका बासिन्दाका लागि कुनै एयरलाइन्सले बुकिङ खुला गरेका छैनन्।

पर्यटकीय सिजनमा मात्र विमानस्थल चल्ने भएकाले वरपरका होटल र पसल पनि सुनसान छन्। जिल्लामा विमानस्थल हुँदा पनि सुविधा नपाउनु दुखद भएको स्थानीयको भनाइ छ। स्थानीय वीरेन्द्र श्रेष्ठले राससलाई भने, ‘यहाँका मानिस सडकमार्गबाट काठमाडौं जाँदा बीपी राजमार्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोसी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्छ।’

गत वर्ष असोज १२ मा आएको बाढीले पुष्पलाल मार्ग र बीपी राजमार्गमा धेरै ठाउँमा क्षति पुगेको छ। यी मार्ग जोखिमपूर्ण छन्। जिल्लामा सुविधायुक्त एम्बुलेन्स नहुँदा र मन्थलीबाट काठमाडौं जाने सडक मार्ग भरपर्दो नहुँदा जटिल बिरामीलाई काठमाडौं पठाउन समस्या हुने गरेको श्रेष्ठको भनाइ छ।

नजिकिँदो दसैं-तिहारका लागि सहरबाट गाउँ आउनेको संख्या बढ्दै छ। जोखिमपूर्ण सडकमार्गले चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली-१ का नारायणदास श्रेष्ठले बताए।

जिल्लामा हवाई सेवा नियमित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले पटकपटक पहल गरेको तर टुंगो नलागेको नगरप्रमुख लव श्रेष्ठले बताए। उनले भने, ‘नियमित उडानका लागि सांसदसहित हामीले पर्यटन मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छौं। मन्त्रीले सकारात्मक आश्वासन दिए पनि सुनुवाइ भएको छैन। यसले नागरिकको जनप्रतिनिधिप्रति विश्वास घटेको छ।’

रामेछापमा लामो संघर्षपछि विमानस्थल कालोपत्रे भएको थियो। गत वर्ष बाढीले मन्थलीबाट काठमाडौं जाने बाटो अवरुद्ध हुँदा केही समय हवाई सेवा चलेको तर अहिले बन्द भएको पूर्वराज्यमन्त्री एवं सांसद पूर्णबहादुर तामाङले बताए। उनले भने, ‘यहाँको विमानस्थलबाट नागरिकले आउजाउ गर्न सकून् भनेर विशेष पहल भइरहेको छ। सम्भव भए दसैंअघि नै नियमित उडान गराउने तयारीमा छु।’

सोलुको लुक्लासम्म सीता, तारा र समिट एयरले पर्यटकीय सिजनमा ६०-६५ उडान भर्ने गर्छन्। ती एयरलाइन्सले आलोपालो प्रणालीबाट जिल्लाका नागरिक र बिरामीलाई पनि सेवा दिनुपर्ने मन्थली-२ का गुञ्जबहादुर श्रेष्ठले बताए। रासस

प्रकाशित: २१ भाद्र २०८२ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App