२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

लामो समयदेखि प्रयास भइरहे पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको बुद्धको क्रीडास्थल तिलौराकोटलाई यथाशीघ्र विश्व सम्पदा सूचीमा समावेश गराउन सरकारले ठोस र विशेष पहल गर्नुपर्ने माग उठेको छ।

एक दशक लामो उत्खनन, अध्ययन तथा अनुसन्धानपछि दुई वर्षअघि नेपाल सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रस्ताव पठाएको भए पनि स्वीकृति नपाएपछि यो प्रक्रिया अझै प्रतीक्षारत रहेको छ।

कपिलवस्तु जिल्लाको पर्यटन क्षेत्रको दिगो विकास, प्रचारप्रसार तथा पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले तौलिहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले तिलौराकोटको विकासका लागि विश्व सम्पदा सूचीमा सूचीकृत हुनु अपरिहार्य रहेको बताएका हुन्। कपिलवस्तु नगरपालिकाको सहयोगमा गौतम बुद्ध सामाजिक विकास केन्द्रले कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले तिलौराकोटको समग्र विकासका लागि सरकारले छिटोभन्दा छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल गर्नुपर्ने बताए। उनले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटिनु सकारात्मक भएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न विशेष र कूटनीतिक पहल आवश्यक रहेको धारणा राखे।

उनले कपिलवस्तु ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक दृष्टिले विश्वकै महत्वपूर्ण गन्तव्य भएकाले यसको संरक्षण र प्रवर्द्धन नगरपालिकाको प्राथमिकतामा रहेको बताए। पर्यटनलाई स्थानीय आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न पूर्वाधार निर्माण, सरसफाइ, सौन्दर्यीकरण तथा निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले तिलौराकोटलाई लुम्बिनी, देवदह, रामग्राम तथा भारतका सारनाथ र कुशीनगरसँग जोडेर अन्तर्राष्ट्रिय बौद्ध पर्यटन सर्किटका रूपमा विकास गर्नुपर्ने बताए। उनले प्रभावकारी रूपमा अन्तरदेशीय बौद्ध पर्यटन सञ्जालसँग जोड्न सके पर्यटन क्षेत्रमा उल्लेखनीय फड्को मार्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा पर्यटन विज्ञ पोमनारायण पौडेल र लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईले कार्यपत्र प्रस्तुत गर्दै कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विकास, प्रचारप्रसार तथा पर्यटन सम्भावनाबारे जानकारी दिएका थिए।

अन्तरक्रियामा पर्यटकमैत्री वातावरण निर्माण, गुणस्तरीय सेवा, व्यवस्थित बजार तथा होटल व्यवसायको विकाससँगै कपिलवस्तुको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रचार गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, पर्यटन व्यवसायी, सामाजिक अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गौतम बुद्ध सामाजिक विकास केन्द्रका अध्यक्ष प्रेम जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य राजेश ज्ञवालीले गरेका थिए।

कपिलवस्तुमा बुद्धसँग सम्बन्धित करिब डेढ सय ऐतिहासिक तथा धार्मिक स्थल रहेको बताइएको छ।

प्रकाशित: १३ असार २०८३ २०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App