१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न माग

अन्नको भण्डार रूपमा रहेको कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। जसपा नेपालले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यो माग गरेको हो।

ज्ञापनपत्र बुझाउनुअघि जसपा नेपालका नेता र कार्यकर्ताले प्रशासन कार्यालयअघि सुखाग्रस्त क्षेत्रको घोषणाका लागि नाराबाजी गरेका थिए। मधेस प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरिएको भन्दै जसपा नेपालले कपिलवस्तुसहित सुखाग्रस्त रहेका अन्य जिल्लालाई पनि सुखा क्षेत्र घोषणा गर्न माग गरेको हो।

जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव, केन्द्रीय सदस्य अब्दुल रसिद खा र साधिका यादव तथा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेललगायतको टोलीले प्रजिअ दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाए। रोपाइँ गरेको धान खेतमा चिरा परेर डढेकाले सुखाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने जिल्ला अध्यक्ष यादवले माग गरे।

यादवले सुखा क्षेत्रसहित कृषकलाई उचित राहत उपलब्ध गराउनुपर्ने बताए। सिँचाइ र मलखाद उपलब्ध गराउनुपर्ने माग गरे। सरकारले सहजरूपमा मलखाद वितरणको प्रक्रिया तुरुन्त गर्नुपर्ने र सीमा नाकामा मलखाद ल्याउने कृषकलाई अनावश्यक दुख दिन नहुने उनले माग गरे।

प्रकाशित: ११ श्रावण २०८२ १९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App