४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

वीरगञ्जको मुख्य सडकलाई ‘सहरी मार्ग’ बनाउन माग

वीरगञ्ज सहरको अस्तित्व जोगाउन मुख्य बजार क्षेत्रको सडकलाई सहरी मार्गको मापदण्डमा ल्याउन सरकारसँग आग्रह गरिएको छ। 

वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियार र वीरगञ्ज बचाऊँ संघर्ष समितिका तर्फबाट संयोजक जवाहर प्रसाद गुप्ताले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सहरको मौलिक पहिचान जोगाउन यस्तो माग गरेका हुन्।

विज्ञप्तिमा २०७२ भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन राजपथ अन्तर्गत पथलैया-वीरगञ्ज खण्डको पुरानो बाटो परिवर्तन गरी पथलैया-परवानीपुर-बहुअरी हुँदै एकीकृत जाँच चौकीसम्मको खण्डलाई नयाँ मार्ग कायम गर्ने निर्णय गरिसकेको उल्लेख छ। हाल उक्त नयाँ मार्गमा ६ लेनको सडक निर्माण भई सञ्चालनमा समेत आइसकेको र पुरानो भन्सारबाट हुने ढुवानीका कार्य समेत पूर्ण रूपमा रोकिएको उनीहरूले बताएका छन्।

वीरगञ्जको मुख्य बजार क्षेत्रमा हाल वैकल्पिक मार्गका रूपमा ११० फिटको बाह्य चक्रपथ, ४० फिटको अर्को सहायक मार्ग र ६६ फिटको रेल्वे रोड सञ्चालनमा रहेका छन्। यस्तो अवस्थामा मुख्य सडकमा ठूलो मात्रामा तोडफोड गर्दा ऐतिहासिक तथा धार्मिक धरोहर संकटमा पर्ने कुरातर्फ सरकारलाई सचेत गराइएको छ। उनीहरूका अनुसार गण्डकदेखि रजतजयन्ती चोकसम्मको घना बस्तीमा रहेका करिब एक हजार ५०० घरधनी र तीन हजार व्यापारी सडक विस्तारको चपेटामा पर्ने देखिएको छ।

सडक विस्तारका कारण करिब नौ हजारको रोजगारी गुम्ने र ८० प्रतिशतभन्दा बढी घरधनी घरबारविहीन भई सुकुम्बासी हुने जोखिम रहेको दाबी समेत गरिएको छ। 

उनीहरूले नारायणगढ-मुग्लिन सडक खण्डको पुलचोकदेखि आपटारीसम्मको सडकलाई जस्तै वीरगञ्जको मुख्य खण्डलाई पनि सहरी मार्गको मापदण्ड अनुसार दायाँ-बायाँ ६-६ मिटर कायम गरी प्राचीन बस्ती र भौतिक संरचनाको संरक्षण गरिदिन सरकारसँग माग गरेका छन्।

प्रकाशित: १४ वैशाख २०८३ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App