३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

दीपाश्री निरौलालाई ब्रेन ट्युमर, सफल भयो शल्यक्रिया

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनको वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।

दीपाश्रीका सहकर्मी एवं अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै शल्यक्रिया सफल भएको जानकारी दिए।

गिरीका अनुसार हाल उनलाई आईसीयूबाट जनरल वार्डमा सारेर स्वास्थ्यलाभ गराइँदै छ र उनको अवस्था सुधारोन्मुख रहेको छ।

चलचित्र छायांकनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो।

‘सुटिङको बीचमा दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि हामी अन्योलमा पर्‍यौं र तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आयो,’ अभिनेता गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै ठाउँबाट भारत गएर उपचार गराउने सल्लाह आए पनि अन्त्यमा हामीले नेपालकै अनुभवी चिकित्सक डा. बसन्त पन्तद्वारा शल्यक्रिया गराउने निर्णय गर्‍यौं।’

दशकौंदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय दीपाश्रीले थुप्रै चलचित्रहरूमा अब्बल अभिनय गर्नुका साथै व्यावसायिक रूपमा सफल चलचित्रहरूको निर्देशन गरिसकेकी छन्।

प्रकाशित: २८ असार २०८३ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App