२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

नारायणीमा कैदीको मृत्यु, छानबिन समिति गठन

पर्सा जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारको क्रममा मंगलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ। 

पर्साको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साको सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको सदस्यमा पर्सा प्रहरीको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकको दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घको प्रतिनिधि रहने गरी सात सदस्यीय छानबिन समिति गठन गरेको हो। 

बैठकले मृतकको शव परीक्षणलगायतको अन्य कानुनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ। वीरगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्दा राहुल साह तुरहाको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। 

वीरगञ्ज कारागारको प्रमुख खिमराज भुसालको अनुसार कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको कैदी साहको मंगलबार बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा पु¥याइएको थियो। आफन्तले भने पर्साको प्रजिअले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नको लागि अनुमति नदिएको आरोप लगाएको छ। 

कैदीबन्दी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेको थियो। पर्सा प्रहरीको सूचना अधिकारी लम्सालले पर्सा प्रहरीले भिड नियन्त्रणको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ। साह विसं २०७९ देखि कर्तव्य ज्यानमुद्दामा कैद सजाय भुक्तान गर्दै आएको थियो। रासस

प्रकाशित: २८ श्रावण २०८२ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App