बर्दिया, झापा र ललितपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।
मंगलबार बिहान भएका यी घटनामा दुई जनाको आफ्नै घरमा विद्युतीय मोटरबाट र एक जनाको बिजुलीको पोल निकाल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बर्दियाको बारबार्दिया नगरपालिका–२ नारायणपुरका २९ वर्षीय अनमोल चौधरीको आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको मेडिकल कलेज कोहलपुर, बाँकेमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
यस्तै, झापाको दमक नगरपालिका-९ अडियामल बस्ने ३८ वर्षीया लिला माया धिमालको पनि विद्युतीय मोटरकै कारण ज्यान गएको छ।
आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको दमकस्थित निम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोमा बिजुलीको पोल निकाल्ने क्रममा करेन्ट लागेर ७३ वर्षीय युद्ध प्रसाद बजगाईको मृत्यु भएको छ।
बाग्मती गाउँपालिका–४ प्युटार घर भएका बजगाईले नख्खुखोलास्थित बिजुलीको पोल निकाल्ने क्रममा फलामको रडले ‘हाइटेन्सन’ लाइनको तारमा छोएको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले यी तीनै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: १५ वैशाख २०८३ १८:१२ मंगलबार





