भोटेकोसी बाढीमा आफन्त परेपछि कतै बालबालिका एक्लिएका छन्, कतै वृद्धा त कतै युवा। कतिको परिवारै बाढीमा बगेका छन्। आफ्नो आँखाअगाडि परिवारका सदस्य बगेको दृश्य देखेका भोटकोसी बाढीका प्रभावितमा भने विभिन्न मनोसामाजिक समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. अञ्जु कार्कीले बताइन्। सुरुका दिनमा आत्तिने र निद्रा नलाग्ने समस्या देखिएको थियो । पछिल्लो समय पोस्ट ट्रम्याटिक डिस्अर्डरका रूपमा मनोसमस्या देखिएको स्थलगतरूपमा खटिएका मनोविद् बताउँछन्।
स्थानीय रूपमा खटिएकी त्रिशूलीस्थित साइकोलोजी सपोर्ट अर्गनाइजेसनकी अमृता गुरुङका अनुसार सुरुमा पानी देखेपखि आत्तिने, राति निदाउन नसक्ने समस्या थियो भने पछिल्लो समय बारम्बार त्यही घटना सम्झने, घटना बारम्बार सम्झनामा आउने, रातिमा डरलाग्दा सपना देख्ने, घटना फेरि भएजस्तो हुने समस्या थियो। त्यसमा पनि पहिल्यै मनोसमस्या भएका व्यक्तिमा त्रासको भावना उत्पन्न हुने समस्या देखिएको गुरुङले बताइन्।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख डा. अञ्जु कार्कीका अनुसार कतिपय मानिसमा पीडा भुल्न मदिरा सेवनको सहारा लिइरहेका छन्। घटनालगत्तै सामुदायिक संस्था र नेपाल सरकारले प्रभावित पालिकामा मनोपरामर्श होल्डिङ सेन्टरमै पुगेर नियमित प्रवाह गरेपछि कतिपयमा सुधार आएपछि बालबालिका र पहिल्यै मानसिक समस्या भएका व्यक्तिमा समस्या कायमै छ तर सुरुको तुलनामा कम हुन थालेको कार्की बताउँछिन्। ‘बच्चा तर्सिने, टोलाउने समस्या देखिएको छ। यसका साथै कतिपयमा एन्जाइटी डिपे्रसनको समस्या पनि देखिएको छ। यस्ता बिरामीलाई मनोचिकित्सकसँग अस्पतालमा रेफर गर्ने गरिएको डा. कार्कीले बताइन्। पछिल्लो समय पानीदेखि तर्सिने समस्या भने कम हुँदै गएको छ।
स्कुल, कलेज पढ्ने उमेर समूहका बालबालिका तथा किशोर–किशोरीमा भने अब कसरी थप कक्षा पढ्ने, अब के गर्ने भन्ने विषयको सोचाइ आएर टोलाउने गरेको पाइएको साइकोलोजिकल सपोर्ट सेन्टर त्रिशूलीकी मनोविद् गुरुङ बताउँछिन्। प्रभावितका लागि सरकारले अस्थायी टहरा बनाइसकेपछि उनीहरूमा केही आशा पलाएको मनोभावना पनि विकास हुन थालेको उनको अनुभव छ। विशेष पोस्ट ट्रामेटिक डिअस्र्डर (पुरानो घटनाको याद आइरहने समस्या) पनि उत्तिकै देखिएको छ। यी समस्याको उपचारका लागि स्कुल नर्स तालिम दिने, होल्डिङ सेन्टरमा सुरुमा सामूहिक रूपमा परामर्श र पछि गएर व्यक्तिगतरूपमा पनि समस्या हेरिरहेको डा. कार्कीले बताइन्।
सामूहिक परामर्श र प्रभावित गाउँमा खटिएको परामर्शदाता, मनोचिकित्सकको उपचारपछि सुधार हुँदै गएको रसुवा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख अस्मिना श्रेष्ठले बताइन्।
प्रकाशित: ३० आश्विन २०८३ १०:१५ शुक्रबार





