नेपालीहरूको ठूलो चाड बडादसैं नजिकिँदा जुम्लाका गाउँ-सहरमा उल्लास, चहलपहल र व्यस्तता बढेको छ। वर्षभरिको थकाइ मेट्ने, परिवार भेट्ने र मौलिक संस्कृतिमा रमाउने अवसरलाई लिएर स्थानीय र बाहिरिएका मानिस आफ्नो जन्मथलो फर्कन थालेका छन्।
दसैं नजिकिँदा सदरमुकाम खलंगा बसपार्कमा दैनिक सयौं मानिसको ओइरो लाग्न थालेको छ। तीमध्ये अधिकांश सहरमा अध्ययन, रोजगारी, व्यापार वा अन्य कामका लागि रहेका व्यक्ति हुन्, जो एक वर्षपछि गाउँ फर्कँदै छन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बोता गाउँ फर्कन पर्खिरहेकी सृजना रावतको अनुहारमा उत्साह झल्किन्छ। ‘एक वर्षपछि घर जान लागेकी छु,’ उनले भनिन्, ‘दसैंमा आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैसँग भेटिन्छ। साथीहरू पनि भेटिन्छन्। गाउँकै जमघटमा रमाइलो छ।’
यस्तै, सुर्खेतकी करुणा बुढाथोकी पनि दसैं मनाउन घर फर्कँदै छिन्। उनी भन्छिन्, ‘सहरमा दसैंको रौनक देखिए पनि गाउँमा त्यो आत्मीयता हुन्छ। सयपत्रीको माला, जमरा राख्ने थाली, टीकाको टल्काउने निधार, यी सबैको मजा गाउँमै छ।’
जुम्लाको सदरमुकाम खलंगाबाट आ(आफ्नो गाउँ फर्कनेहरूको घुइँचो लाग्न थालेको छ। सिञ्जा गाउँपालिका–६ तर्फ फर्कन गाडी कुरिरहेकी सम्झना बुढा भन्छिन्, ‘एक वर्षपछि परिवार भेट्न जान लागेको छु, मन निकै उत्साहित छ। साथीहरूसँगको भेटघाट पनि यसै अवसरमा हुन्छ।’ दसैं आफ्नो गाउँको परम्पराअनुसार मनाउन जाँदै गरेको उनले बताइन्।
असोजको सुरुवातसँगै जुम्लाको खलंगा बसपार्क यात्रुले भरिएको छ। बिहानदेखि बेलुकासम्म यात्रुको भिड देखिन्छ। कतिपयले टिकट पाउन सकिरहेका छैनन्। बसको सङ्ख्या कम छ, भिड धेरै भएको गुनासो यात्रुको छ।
सिञ्जा क्षेत्रका नराकोट, गोठिज्युला, रारालिही, कुडारी, तातोपानीको लिताकोट, पातारासीको लासी बजार, गुठिचौरको झारज्वाला, जुम्लाको सदरमुकाम खलंगा र नाग्म बजारलगायत ठाउँमा दसैंका लागि किनमेल गर्नेको भिड बढेको छ। बजारमा नयाँ कपडा, चप्पल, श्रृङ्गार सामग्री, मिठाई र चाडपर्वका सामानको कारोबार चर्किएको छ। व्यापारीले दसैंलाई लक्षित गरेर नयाँ सामान भित्र्याएका छन्। ‘दसैंकै लागि राम्रै भइरहेको छ,’ व्यापारीले भने, ‘गाउँका ग्राहक धेरै मन पराउँछन्।’
दसैं, तिहार र छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेष सुरक्षा योजना लागू गरेको छ। प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना कम गर्न र कानुनी अनुगमन तीव्र पारिएको डिएसपी रविन बाबु रेग्मीले बताए । उनी भन्छन्, ‘शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराध, विकृति, दुर्घटना कम गर्न, अनुसन्धान र कारबाहीका लागि विशेष सुरक्षा रणनीति लागू गरिएको छ।’ उनले अगाडि भने, ‘दसैंको समयमा विकृति र अपराध बढ्न सक्ने भएकाले हामीले सशक्त गस्ती, निगरानी र अप्रेशन योजनासहित अघि बढेका छौं। बजार क्षेत्रमा २४ सै घण्टा प्रहरीको उपस्थिति रहनेछ।’
प्रहरीले जुवातास खेलाउने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, घरेलु हिंसा वा अन्य सामाजिक अपराधमा संलग्न हुने व्यक्तिलाई कडा निगरानीमा राख्ने उनले जानकारी दिए। दसैंको टीका लगाउने दिन बिहानै घरघरमा पिँढीमा बसेर आशीर्वाद लिने, जमराको माला लगाउने र खसीको मासु खाएर पर्व मनाउने चलन जीवित छ।
दसैं चाड मात्र होइन, भावनात्मक पुनर्मिलन पनि हो। उत्सव र उत्तरदायित्वको सङ्गम हो। जुम्लामा अहिले घर फर्कनेको ओइरो, बजारको व्यस्तता, सुरक्षाकर्मीको गस्ती र सांस्कृतिक रङ्गले दसैंलाई रंगिन बनाएका छन्। जहाँ परिवार छ, त्यहाँ दसैंको आत्मा बस्छ, र जुम्लाका सडक, घर, पिँढी र गाउँले अनुहारमा अहिले त्यो आत्मा मुस्कुराइरहेको छ।
यता दसैंमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णाली प्रदेशमा ३ हजार ९०८ प्रहरी परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ असोज ६ देखि कात्तिक १० सम्म लागू गर्नेछ।
प्रकाशित: ११ आश्विन २०८२ ११:०८ शनिबार




