१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

डाँडाखेत सवस्टेशनले म्याग्दीको विद्युत समृद्धिमा फड्को

म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ। नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो।  

आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए।  

‘एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रीडमा जोड्ने उद्देश्यले सवस्टेशन निर्माण हुन लागेको हो।’  

डाँडाखेतदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा ३ अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो लिमिटेडसंग ठेक्का सम्झौता भएको थियो। गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ।  

‘समग्रमा ७९.१७ प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो।’  
१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ। चार वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ। प्रशारणलाइन र सवस्टेशनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ।  

२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना निर्माण थालिएको छ। अम्वाङमा सवस्टेशन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो।  

निर्माण कम्पनीले पछिल्लो पटक केही दिनअघि भारतबाट करिब एक सय जना जनशक्ति ल्याएको छ। कूल ४ अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड विद्युत प्राधिकरण र ३ अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी छ।  

रघुगंगा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारणलाइनको टावर निर्माणस्थल छन्। टावर रहने निजी जग्गाधनीलाई १ करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेवापत ४ करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ।  

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्। राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले र २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेका छन्।  

कूल ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्। तुदी पावरले बताएको चिमखोला–राहुघाट–मंगले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारणलाइनमा विद्युत आपूर्ति गराउन थालेका छन्। रासस

प्रकाशित: २८ श्रावण २०८२ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App