कालीकोटको पलाँता गाउँपालिका जोड्ने दाम्री गाडको पुल निर्माणको काम ६ वर्षदेखि अलपत्र परेको छ। ठेकेदार कम्पनी गाल्वा/जगदम्बा/सुपरस्टार जे.भीले सम्झौता अनुसारको काम नगर्दा पुल निर्माणको काम ६ वर्षदेखि अलपत्र भएको हो।
०७७ असार ३० मा २ करोड ९९ लाखमा सम्झौता भएको थियो। सम्झौता अनुसार काम नसकिएपछि पहिलो पटक २०७९ साउन १५ सम्म म्याद थपियो तर काम सकिएन। दोस्रो पटक २०८० साउन १८ सम्म समय दिइयो।
तेस्रो पटक २०८१ वैशाख १५ सम्म म्याद थप गरिए पनि कामको गति बढेन। यो अवधिमा काम नसकिएपछि चौथो पटक २०८२ वैशाख १९ सम्मका लागि म्याद थपियो तर अझै काम सकिने छाँट देखिएन। चौथो पटक थपिएको म्याद सकिए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन।
ठेकेदार कम्पनी गाल्वा/जगदम्बा/सुपरस्टार जे.भीका ठेकेदार तारा शाहले कामलाई ६ वर्षदेखि अलपत्र पारेको स्थानीयको भनाइ छ।
हालसम्म १ करोड ४ लाख ५० हजार पेश्कीबाहेक भुक्तानी गरेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकरप्रसाद सिंहले बताए। उनका अनुसार दाम्री गाडको पुलको हालसम्म दुईवटा पिलर तयार पारिएको छ।
पुलको भौतिक प्रगति ४० प्रतिशत रहेको उनको भनाइ छ। पुल नबन्दा स्थानीयलाई बर्सातमा खोला तर्न समस्या हुने गरेको छ।
प्रकाशित: २५ चैत्र २०८२ ११:१९ बुधबार





