शुक्लागण्डकी-२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा सिफारिस गरेपछि आन्तरिक पर्यटकको रोजाइमा दगाम परेको हो। भिटोफले हरेक वर्ष तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ।
‘हरेक गाउँ पर्यटकीय ठाउँ’ अभियानअन्तर्गत गाउँलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले बताए। दगामका २३ घरमध्ये २० घर मगर र तीन घर गुरुङ समुदायका छन्। मगर समुदायको मौलिक वेशभूषा, संस्कार, संस्कृति र परम्परागत जीवनशैली यहाँका प्रमुख आकर्षण हुन्।
विसं २०६५ मा सिरुबारी गाउँको अवलोकन गरेपछि स्थानीयको पहलमा दगाम सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको थियो। हाल पोखरासहित भैरहवा, बुटवल, नारायणगढ र काठमाडौंबाट पर्यटक दगाम पुग्ने गरेका छन्।
होमस्टे संयोजक नन्द थापाका अनुसार दगामबाट चारैतिरका डाँडासँगै हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देखिने उनले बताए।
पाहुनालाई कोदो, मकै, पिँडालु र सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकार तथा गाउँमै उत्पादित मह खुवाउने गरिएको उनले जानकारी दिए।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दगाम होमस्टेलाई राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास भइरहेको बताए।
यसैबीच, विश्व पर्यटन दिवसका अवसरमा भिटोफ गण्डकीले दगाममा घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
प्रकाशित: १० आश्विन २०८३ ०७:२३ शनिबार





-600x400.jpg)