१० आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

चङ्गाको त्यान्द्रो

निबन्ध

बाहिर व्यक्त गरे पनि नगरे पनि हामी सबैको चाहना हुन्छ -चाहेको ठाउँमा जान पाइयोस्, चाहेको कुरा गर्न पाइयोस्, आफ्नो जीवन आफ्नै इच्छाले बाँच्न पाइयोस्। स्वतन्त्रताको चाहना मान्छेको स्वभाव नै हो। हामी स्वतन्त्र मान्छे बन्न चाहन्छौं।

पोहोरको दसैंको कुरा हो। वर्षमा एकपटक सहर छोडेर जन्मथलो जान पाइने रमाइलो बेला हो दसैं। छोराले भन्यो - ‘बाबा ! गाउँमा हावा पनि बेसरी चल्छ। फेरि गाउँको हावा सफा हुन्छ। यसपालि गाउँमा पनि चङ्गा लगौं है।’

छोराको कुरा स्वीकार्य थियो। नयाँ चङ्गा, धागो, लट्टाई किनेर छोरालाई दिएँ। उसले चङ्गाको सेट गाउँमा लग्यो।

स्कुलमाथि चौतारीमा मौलाएको काभ्राको फेदबाट नातिले चङ्गा उडाइरहेको हजुरबुबाले हेरिरहनुभएको थियो। चङ्गा आकाश छुँदै थियो। यति नै बेला नातिले हजुरबुबालाई सोध्यो– ‘हजुरबुबा ! चङ्गालाई धागोबाट छुटाइदिएपछि झन् माथि उड्ला नि ? उडिराखेको चङ्गालाई धागोले किन बन्धनमा राख्ने?’

हजुरबुबाले केही बेर चङ्गालाई हेर्नुभयो अनि भन्नुभयो -‘धागोबाट चङ्गालाई छुटाइदिँदा एकैछिन त झन् माथि पुगेजस्तो देखिएला। त्यसपछि चङ्गा कहाँ पुग्छ, ऊ आफैंलाई थाहा हुँदैन।’

नातिले सोध्यो - ‘बाँध्ने धागो किन चाहिन्छ ?’ हजुरबुबाले भन्नुभयो - ‘आकाशमा पुगेर पनि घर फर्कन सकियोस् भनेर।’

चङ्गा आकाशमा उडिरहँदा मनका कुरा पनि आकाशमै उड्न थाल्छन्। मन चङ्गा हो कहिले कहाँ कहिले कहाँ उडिरहने, हावाको झोक्कासँगै जीवनाकाश चहारिरहने। आकाश र पाताल गरिरहन्छ चङ्गा। हावाको काँधमा बसेर चङ्गा कहिले पूर्वतिर दौडन्छ, कहिले पश्चिमतिर फर्किन्छ। उडिरहँदा चङ्गा आकाशमा हुन्छ, लट्टाई पृथ्वीमा। चङ्गादर्शन र जीवनदर्शन उस्तै प्रतीत हुन्छ। हाम्रो शरीर धरातलमा हुन्छ, चेतना, मन वा आकाङ्क्षा आकाशमा उडिरहेका हुन्छन्। तल उभिएर चङ्गाको उडान हेर्दा खुब रमाइलो लाग्छ। हेर्दा चङ्गा देखिन्छ, देखिन्छ लट्टाई, देखिँदैन चङ्गा र लट्टाईलाई जोड्ने सेतु अर्थात् धागो।

यस्तो देख्दा मनले आफैंलाई प्रश्न सोध्छ– चङ्गारूपी मनलाई उडाउने धागो के हो अनि त्यो धागो बेर्ने लट्टाई कसले समातिराखेको छ? उडिरहेको चङ्गालाई अझै माथि माथि पुर्‍याएर, चङ्गाभित्र खुब मजा भरिदिएर च्याट्ट धागो काटिएको पटक पटक देख्दा लाग्छ - चङ्गाको उमङ्ग हेर्न नसकेर झुक्याई झुक्याई धागो कसले काटिदिन्छ? धागो चुँडाल्नु नै थियो भने आकाशमा पुर्‍याएर चङ्गामा त्यो क्षणिक आनन्द किन भरेको होला?

यहाँ पटकपटक यस्तै भएको छ। धरोहराको शिखरमा पुर्‍याएर महाभूकम्पको बहानामा जीवनका कैयौं धागो चुँडालिए, आत्मिक माया गरेजस्तो गर्दै यौनिक उत्तेजनाको शिखरमा पुर्‍याएर कैयौं यौवनाहरूको घाँटी रेटियो, भोटेकोसीको हावा खाँदै स्वच्छ जीवन बिताइरहेका अनि गोसाइकुण्डको आत्मिक आनन्द बटुल्न आकासिएका कैयौं आस्तिक मनलाई झुक्याई झुक्याई त्यही सुन्दर नदीले निमोठ्यो। ती कैयौं उडिरहेका जीवनचङ्गा एक्कासी भुइँमा बजारिँदा लाग्छ– हाम्रो धागो कसको हातमा छ?

कहिलेकाहीं लाग्छ, चङ्गाको धागो हाम्रै हातमा छ। हामी नै हौं, चङ्गालाई आकाशमा रमाएको हेर्न नसक्ने अनि चङ्गाको प्राण च्वाट्ट काटिदिने। हामी नै होइनौं र, माया गरेजस्तो गरी कुखुरा, खसी, बोका, माछा, चरा पाल्ने अनि तिनैको प्राण निमोठेर उत्सव, पर्व, मेलामा रमाउने? हामी नै होइनौं र, भगवान्लाई खुसी बनाउन आफ्नै घरमा पालेका परिवारका सदस्यजस्तै पशुपन्छीलाई मन्दिरमा लगेर चढाउने ? हामी नै होइनौं र, आफन्तको मृत्युमा समेत दुई छाक मासु छोड्न नसकी छिमेकीको घरमा गएर मांसाहार गर्ने? हामी नै होइनौं र, शवको अगाडि उभिएर संसार नश्वर छ भन्ने अनि केही दिनमै फेरि त्यही सम्पत्ति, पद, प्रतिष्ठा र अहंकारका लागि जे पनि गर्न तयार हुने? हामी नै होइनौं र, समाजमा विभेद हुनु हुँदैन भन्ने अनि बिहे, भोज, मित्रता र सामाजिक सम्बन्धमा जात, वर्ग, हैसियत र सम्पत्तिको अदृश्य तराजु बोकेर हिँड्ने? हामी नै होइनौं र, वृद्ध आमाबुबालाई देवताजस्तै मान्नुपर्छ भन्ने अनि दशैंमा टीका लगाएर आशीर्वाद लिएपछि वर्षभरि हराउने, उहाँहरूको एक्लोपन बुझ्न नसक्ने? यस्ता कथा हाम्रै घरआँगनमा भेटिँदा लाग्छ, मनको चङ्गाको डोरी अरू कसैको हातमा छैन, आफ्नै हातमा छ। अनि त्यो मनरूपी चङ्गा आकाशमा नउडी छोड्दैन, मन हामी कसैको नियन्त्रणमा बस्दैन।  

त्यो मन आकाशमा होइन, धरातलमा रहेका बेला लाग्छ - आकाशलाई पनि सीमाभित्र बाँध्नुपर्छ अनि आकाशको निश्चित सीमाभित्र मात्र चङ्गा उडाउनुपर्छ। चङ्गाले सधैं सीमा नाघ्न खोज्छ तर उसको अनियन्त्रित इच्छा पूरा हुन कहिल्यै दिनु हुँदैन किनभने चङ्गा स्वभावतः फटाहा हुन्छ, ठाउँ पायो कि दुराचार गरिहाल्ने, अरूको भाग खोस्न थालिहाल्ने। त्यसले आकाश नाघ्न खोज्छ भन्दैमा चङ्गालाई पिँजडामा थुनेर राख्नु भने हुँदैन। चङ्गालाई हामीले चाहेको दिशामा उडाउनुपर्छ।

मान्छेको सबैभन्दा ठुलो विरोधाभास यही हो - मान्छे प्रेम गर्न चाहन्छ, यद्यपि उसले प्रेममा सधैं सीमा नाघ्न चाहन्छ। मान्छे स्वतन्त्र भएर बाँच्न चाहन्छ, यद्यपि ऊ सधैं सीमापार गरेर स्वतन्त्र हुन खोज्छ। मान्छे सधैं बाँच्न चाहन्छ, यद्यपि आफू बाँच्न उसले अरूलाई निमोठिराखेको हुन्छ। मान्छेले आफ्नो जन्मकुण्डली बनाउँछ, त्यस कुण्डलीमार्फत पटक पटक भाग्य हेर्छ तर आफ्नो भाग्य सबल बनाउँदा मृत्युवरण गर्नुपरेका ती निर्दोष प्राणीको मृत्युकुण्डली कहिल्यै बनाउँदैन। हामीले जीवनचङ्गा उडाउने अधिकार पाएका हौं, उडिराखेको चङ्गाको धागो जानीजानी चुँडाल्ने अधिकार पाएका होइनौं।

सानो बच्चालाई आमाले औंला समातेर हिँडाउँछिन्। बच्चालाई त्यो औंला नियन्त्रणजस्तो लाग्न सक्छ। ऊ छुटेर दौडिन चाहन्छ तर त्यही औंलाले उसलाई लड्नबाट जोगाउँछ। समय बित्दै जाँदा आमाले औंला छोड्नुपर्छ। आमाले जीवनभर बच्चाको हात समातिरहिन् भने बच्चाले आफ्नै बाटो हिँड्न सिक्दैन तर बाल्यकालमै हात छोडिदिइन् भने ऊ बाटोमै हराउन सक्छ। धागो त बच्चालाई समात्ने आमाको हातजस्तै हो। चङ्गाको औंलो धागोले बाँध्नु अनिवार्य छ। धागो चङ्गाको अनुशासन हो, धागो चङ्गा र लट्टाईको सेतु हो अर्थात् आकाशमा उडिरहेको चङ्गाको आत्मा हो धागो। चङ्गा उडाउन धागो चाहिन्छ। धागोबिना चङ्गा उड्न सम्भव नै छैन। कुरा धागोले चङ्गालाई कति कस्ने? उडिरहेको चङ्गालाई बाध्ने धागोलाई निर्दयी भएर किन काट्ने? भन्ने मात्र हो।

चङ्गा उडाउन कहाँ सजिलो छ र? हेर्दा लाग्छ - भुइँमा बसेर लट्टाई छोडिदिएपछि चङ्गा फुरुरु आकाशतर्फ जान्छ। एउटा हातले लट्टाई घुमायो, अर्को हातले धागो सम्हाल्यो र चङ्गा बादलमािथ पुग्यो। व्यवहारमा त्यस्तो हुँदैन। उडाउन जानिएन भने चङ्गा सुरुमै आकासिन मान्दैन। आकाशमा चङ्गा पुग्यो भने अलिक समय त्यसलाई आकाशमै टिकाइराख्नु त्यत्तिकै चुनौतीपूर्ण हुन्छ। हेर्दा आकाश खुला देखिन्छ, बिनाअवरोध, बेपरवाह। खुला देखिएको आकाशमा पनि अनगिन्ती अवरोध हुन्छन्– हावा, पानी, मौसम, ऋतु आदिका जञ्जिरहरू। वसन्त सुन्दर हुन्छ तर आकाशमा त्यही वसन्तमा हावाहुरीको चुनौती बढी हुन्छ। वर्षा शीतल हुन्छ तर आकाशमा त्यही वर्षाको शितलता चङ्गाको चुनौती बनिरहेको हुन्छ। लट्टाई र चङ्गाको सम्बन्ध, आकाशका अदृश्य चुनौती अनि चङ्गाको अग्रगमनको मार्गदर्शन गर्ने शक्तिशाली त्यान्द्रो त्यही मसिनो धागाको एकसरो डोरो न हो।

जीवनको त्यान्द्रो, विश्वासको त्यान्द्रो, प्रेमको त्यान्द्रो, मनको त्यान्द्रो, आशाको त्यान्द्रो, संस्कारको त्यान्द्रो आकारमा ठुला हुँदैनन्, चङ्गाको मसिनो धागाको एकसरो डोरोजस्तै हुन्छन्। संसारमा शक्तिशाली त्यही हुन्छ, जुन हेर्दा मामुली देखिन्छ, अदृश्य देखिन्छ, रहस्यमय देखिन्छ तर महत्त्वा विकल्पहीन हुन्छ।

 जीवनको त्यान्द्रो हामी कसैले देखेका छैनौं तर संसार जोड्ने अनि सारा अहम् तोड्ने त्यान्द्रो हो त्यो। मामुली महसुस हुने अनि भौतिक रूपमा नदेखिने त्यही त्यान्द्रोकै मार्गदर्शनमा जीवन डोरिने हो। यो जीवनमा विश्वास, प्रेम, संस्कार अनि मानवताको त्यान्द्रो छैन भने प्रतिभा, शक्ति, सफलताको कुनै अर्थ हुँदैन। सेक्सपियरले निर्माण गरेका पात्र म्याकबेथ यसका उदाहरण हो। ऊ वीर सैनिक हो तर महत्त्वाकाङ्क्षा बढ्दै जाँदा सत्ताका लागि जे पनि गर्न तयार हुन्छ। राजा भएपछि पनि उसको भय र लोभ घट्दैन। बरु सत्ता जोगाउने क्रममा अपराध थप्दै जान्छ। अन्ततः ऊ एक्लिँदै जान्छ र पतनतर्फ पुग्छ। उनको जीवनले सिकाउँछ -मानिसको ठुलो शत्रु बाहिरको कुनै व्यक्ति होइन, विवेक गुमाएको आफ्नै अहङ्कार हो। इतिहासले मानिस कति माथि पुग्यो भन्ने हेर्दैन, माथि पुगेर उसले कस्तो कर्म गर्‍यो अनि धरातलमा सकुशल अवतरण गर्‍यो कि गरेन भन्ने हेर्छ। आकाशको चङ्गाको कथा पनि यही हो।

आज कतिपय मानिस सफलता पाएपछि जमिन बिर्सन्छन्। उनीहरूलाई लाग्छ– म अब आकाशको मान्छे हुँ। रावण विद्वान्, तपस्वी र शक्तिशाली पात्र हुन् तर शक्ति, ज्ञान र विजय हुँदाहुँदै पनि अहंकारले उनलाई मर्यादा र विवेकको धरातलबाट टाढा लैजान्छ। राजकीय हैसियत, शक्ति र दरबारको समर्थन हुँदाहुँदै पनि दुर्योधनले अहंकारकै कारण विनाशको बाटो छोड्न नसकेका हुन्। शक्ति र विजयको चरम अवस्थामा पुगेका हिटलर पनि आफ्नो धरातल भुलेर अहङ्कारमा चुर्लुम्म डुबेकै कारण अन्ततः स्वधरातलको विनाश र आत्महत्याको बाटोमा पुगेका हुन्।

रुख जतिसुकै अग्लो होस्, उसको जरा जमिनमै हुन्छ, जराले धरती छाडेको दिन उचाइले उसलाई बचाउन सक्दैन। चङ्गा आकाशमा जति माथि पुगे पनि उसको सम्बन्ध जमिनसँग जोडिएको हुन्छ। धागो चुँडिएपछि एकैछिन त उसले आकाश पाउँछ तर तत्कालै आफ्नो दिशा गुमाउँछ। सायद जीवनको सबैभन्दा ठुलो विडम्बना यही हो - मान्छे सफल भएपछि उडानलाई आफ्नो शक्ति ठान्छ तर उसलाई उडाइरहेको धागो कहाँ बाँधिएको छ भन्ने बिर्सन्छ। उसले आफूलाई आकाशको मान्छे सम्झन थाल्छ, जबकि उसको अस्तित्वको पहिलो अक्षर अझै पनि त्यही जमिनले लेखिरहेको हुन्छ, जहाँबाट उसको यात्रा सुरु भएको थियो।

जहाँ पुगे पनि आखिर फर्कनुपर्ने धरातल नै हो। चन्द्रमामा पुगियोस् कि सगरमाथा शिखर वा पेसिसको एफिल टावरको चुचुरो, आखिर हाम्रो धरतल यही हो– पृथ्वीको जग, नेपालको माटो। चङ्गा चितवन राष्ट्रिय निकुञ्जबाट उडाइएको होस् वा चीनको विशाल पर्खालबाट, लट्टाई हाम्रै हातमा हुन्छ।

अधिकांश मान्छे देशविदेश जहाँ पुगे पनि उनीहरूले आफ्नो भाषा, संस्कार, चाडपर्व, रीतिरिवाज भुलेका हुँदैनन्। विश्वको अर्को किनारामा नेपाली पुगे पनि उनीहरू आफ्नै गीतसङ्गीतमा नाचिराखेका हुन्छन्, मनदेखि दसैंतिहारमै रमाएका देखिन्छन्, पेटभरि नेपाली खाना नै खान रुचाउँछन्। उनीहरू चङ्गा न हुन्, विविध परिवेशको आकाशमा उडिरहेका तर उनीहरूको लट्टाई आफ्नै धरातलमा छ, उनीहरूको मन, संस्कार, विश्वास र प्रेमको डोरी नेपालमै बाँधिएको हुन्छ।

प्रकाशित: १० आश्विन २०८३ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App