पर्साको वीरगञ्जमा कर्फ्यू आदेश थप भइको छ। सोमबार साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै चारकिल्ला तोक्दै वीरगञ्ज महानगरपालिकामा कायम कर्फ्यू आदेश मंगलबार बिहान ८ बजेसम्मका लागि थप भएको जानकारी दिएका हुन् ।
आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम महानगरपालिकाको पूर्व बाईपास रोड पश्चिम सिर्सिया पुल उत्तरः पावर हाउस चौक दक्षिण शंकराचार्य गेटमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कर्फ्यूको बेलामा सुरक्षाकर्मीले देख्ने वित्तिकै गोली हान्न सक्ने भएकोले अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ।
कर्फ्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित: २१ पुस २०८२ १८:४२ सोमबार





