रौतहटमाआइतबार एकाबिहानै भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ। रौतहटको दुर्गाभगवती गाउँपालिका ४ मा भएको मोटरसाइकल दुर्घटना श्रीमान श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।
यमुनामाई गाउँपालिका ४ का २४ वषीय जितेन्द्र साह र निजकी २२ वर्षकी पत्नी पुनमदेवी साहको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। घरबाट जिल्ला सदरमुकाम गौरतर्फ जाँदै गरेको अवस्थामा बिआर ३० यु १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर छेउमा रहेको सिसौको रुखमा ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार मृतक दुवैको शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीको भनाइ छ।
रौतहटमा बिहानैदेखि निकै बाक्लो कुहिरो लागेको छ। कुहिरोकै कारण बाटो नदेखिएको र अनियन्त्रित भई बाटोबाट तलतिर खस्न पुगेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन्।
प्रकाशित: ३ फाल्गुन २०८२ ०८:४७ आइतबार





