१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

तारजालीभित्र सिसि क्यामेराको निगरानीमा मतगणा स्थल

सुरक्षालाई मध्यनजर गर्दै सिन्धुलीमा तारजालीभित्र सिसि क्यामेराको निगरानीमा मतगणना हुने गरी तयार गरिएको छ।

सिन्धुलीमा निर्वाचनको तीव्र तयारीसँगै मतगणना स्थलको समेत तयारीलाई तीव्रता दिइएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय भवनभित्र रहने गरी सिन्धुलीका दुवै निर्वाचन क्षेत्रको मतगणना तारजालीभित्र गरिने भएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सिन्धुलीमा मतपत्रसहित निर्वाचन सामग्री कार्यक्षेत्र पठाउने कार्य अगाडि बढेसँगै अन्य तयारी भइरहेको छ। निर्वाचनको सामग्री मतदान केन्द्रतर्फ पठाउने कार्य धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकिएको र निर्वाचन स्थलमा खटाइने कर्मचारीलाई नियुक्ति पत्र दिएर मतदान केन्द्रतर्फ पठाउने काम भइरहेको छ। २१ गते राति नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसक्ने गरी तयारी गरिएको र मतगण स्थल समेत तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले जानकारी दिए। 'तारजालीसहितको व्यवस्था गरेर सिसि क्यामेराको निगरानीमा रहने गरी मतगण स्थल तयार गरिएको छ,' उनले भने, 'हामी निर्वाचन गराउन तयारी अवस्थामा छौँ।'

मतदान केन्द्रलाई उच्च निगरानीमा राखिएको सुरक्षा निकायले जनाएको छ। यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान तथा निर्वाचन प्रहरी गरी ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यक स्थानमा सुरक्षाकर्मी पुगिसकेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्।

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ ६ जना स्वतन्त्रसहित २८ जनाले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App