रौतहटको परोहा नगरपालिका-९ स्थित रामपुर पोखरीको डिलमा मन्दिर तथा भवन निर्माण योजनामा फिल्डमा काम नगरी बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमिल्सेना, इन्जिनियर नितिश कुमार पटेल तथा उपभोक्ता समितिका अध्यक्ष खहेरु साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई प्रतिवादी बनाएर मंगलबार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बिगो दाबी गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेश सरकार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास कार्यालय गौरबाट उक्त योजनाका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो।
सोहीबमोजिम ‘रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण’का लागि उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो।
तर, राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माण गर्दा फिल्डमा भएको वास्तविक कामभन्दा नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा बढी परिमाण देखाई गलत प्राविधिक प्रतिवेदन र झुटा बिल भरपाई तयार गरेर ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख काफ्ले तथा इन्जिनियरद्वय तिमिल्सेना र पटेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) तथा दफा १९ (२) बमोजिम कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ।
यस्तै, गैरकानुनी लाभ लिने मतियार बनेका उपभोक्ता समितिका अध्यक्ष तेली र कोषाध्यक्ष कुन्ती देवीविरुद्ध पनि सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय र बिगो असुल गर्न माग गरिएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १५:४० मंगलबार





