भोटेकोशी बाढीको विपद्मा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना कर्मचारीका परिवारप्रति नेपाल प्रहरीले संस्थागत अभिभावकत्व ग्रहण गर्दै विशेष राहत घोषणा गरेको छ।
प्रहरीले पीडित परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिनेसँगै मृतकले लिएको ऋण मिनाहा र उनीहरूका सन्ततिलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले बाढी प्रभावित प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो।
बैठकले विपद् व्यवस्थापनका लागि राष्ट्रिय दायित्व निर्वाह गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँसमेत जम्मा गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी २५ जना प्रहरी अझै सम्पर्कविहीन छन्। बैठकले ती बेपत्ता प्रहरी कर्मचारीको खोजी कार्यलाई निष्कर्षमा पुर्याउन सम्बन्धित परिवारसँगको समन्वयमा तत्काल विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरेको छ।
बाढीमा परी दिवङ्गत भएका प्रहरी कर्मचारीले प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम पूर्ण रूपमा मिनाहा गर्ने निर्णय सङ्गठनले गरेको छ।
साथै, उनीहरूका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र काभ्रेको साँगास्थित नेपाल प्रहरी आवासीय विद्यालयमा उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ। पीडित परिवारलाई आत्मनिर्भर बनाउन परिवारका इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिमसमेत प्रदान गरिनेछ।
यसबाहेक, बाढी प्रभावित क्षेत्रमा खटिएर विपद्को सामना गरेका र आफ्ना व्यक्तिगत सामग्री गुमाएका अग्रपङ्क्तिका प्रहरीलाई पनि राहत दिने निर्णय भएको छ।
प्रवक्ता काफ्लेका अनुसार बाढी प्रभावित इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोष्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीलाई व्यक्तिगत क्षतिको राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।
प्रकाशित: १७ भाद्र २०८३ २१:४४ बुधबार




-600x400.jpg)
