१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

नक्कली ‘पीएचडी’ देखाएर जागिर खाने सह-परीक्षा नियन्त्रक र छनोट गर्ने ३ प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदमा नक्कली शैक्षिक योग्यता पेस गरी नियुक्ति लिएको अभियोगमा चार जना उच्च पदस्थ व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले बुधबार त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सह-परीक्षा नियन्त्रक डिल्लीराम प्रसाई र उनलाई छनोट गर्ने समितिमा रहेका तीन जना वरिष्ठ प्राध्यापकहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले मुख्य प्रतिवादी बनाएका डिल्लीराम प्रसाईसहित छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान तथा सदस्यहरू प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेलविरुद्ध आरोपपत्र दायर गरेको हो।

त्रिवि रजिष्ट्रारको कार्यालयले २०८१ भदौमा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि सह-परीक्षा नियन्त्रक माग गरेको थियो। उक्त पदका लागि डिल्लीराम प्रसाईले आवेदन दिएका थिए।

अनुसन्धानका क्रममा प्रसाईंले आफूसँग नभएको योग्यता (पीएचडी) प्राप्त गरेको भनी झुट्टा विवरण पेस गरेको र छनोट समितिले पनि सोही विवरणका आधारमा उनलाई नियुक्ति सिफारिस गरेको खुलेको छ।

पीएचडी नै नगरी ‘डाक्टर’

प्रसाईंले विद्यावारिधि पूरा नहुँदै आफ्नो बायोडाटा, कार्यालयको नेम प्लेट, लेटरप्याड र विभिन्न औपचारिक कार्यक्रममा आफ्नो नामको अगाडि डा. लेख्ने गरेका थिए।

उनले २०७३ सालमै बंगलादेशमा भएको सेमिनार र २०८१ सालमा कोशी प्रदेश योजना आयोगको विज्ञका रूपमा सहभागी हुँदा पनि आफूलाई डाक्टरका रूपमा चिनाएका थिए।

प्रसाईंले २०८० पुस ५ गते डीनको कार्यालयमा शोधपत्र बुझाए पनि त्यसलाई परिमार्जनका लागि ६ महिनाको समय दिइएको थियो। तर, उनले विद्यावारिधिको प्रोभिजनल सर्टिफिकेट नै नलिई बदनियतपूर्वक आवेदन दिएका थिए।

अख्तियारले छनोट समितिका पदाधिकारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र १९ (२) बमोजिम तथा नक्कली विवरण पेस गर्ने डिल्लीराम प्रसाईलाई ऐनको दफा १५, १३, १९ (२) र २२ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।

प्रकाशित: १० मंसिर २०८२ १८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App