९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पाथीभरामा कार्य सम्पादन सम्झौताको निरन्तरता

ताप्लेजुङका स्थानीय तहमा कार्य सम्पादन सम्झौता हुन थालेको छ। पालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसँग र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गरेका छन्। 

पाथीभरा याङ्वरक गाउँपालिकाले कार्य सम्पादन सम्झौतालाई यो वर्ष पनि निरन्तरता दिएको छ। कार्य सञ्चालन पद्धति प्रभावकारी, सेवाग्राहीको भावनाअनुसार, जनमुखी, सरल र मितव्ययी बनाउने प्रणसहित पाथीभरा याङ्वरक गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग २३ बुँदे कार्य सम्पादन सम्झौता गरेको छ। 

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र प्रमुख प्रशासकीय अधिकृत सङ्गम पौडेलबिच भएको कार्य सम्पादन सम्झौतामा सभा र कार्यपालिकाले गरेका निर्णय अक्षरशः कार्यान्वयन गर्ने, वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने, कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फर्स्योट गराउने प्रमुख जिम्मेवारी प्रशासकीय अधिकृतको हुने उल्लेख छ। 

यस्तै, गाउँपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गराउने, कार्यपालिकाको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने, न्यायिक समितिबाट भएको मिलापत्र र निर्णयसम्बन्धी मिसिल संरक्षण गराउने, सार्वजनिक खरिद योजना तयार गरी खरिदसम्बन्धी कार्य व्यवस्थित गर्ने, गाउँपालिकाको क्षेत्राधिकारभित्रका विषयमा आवश्यक कानुन र कार्यविधि बनाउन पहल गर्ने, न्यूनतम दररेट निर्धारण गराउने र गाउँपालिकाको सङ्घीय र प्रदेशस्तरको आयोजना कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने कार्य सम्पादन सम्झौतामा उल्लेख छ। 

प्रत्येक वर्षको वैशाख १५ गतेभित्र विषयगत महाशाखा, शाखा तथा वडा समितिलाई आगामी आर्थिक वर्षको बजेटको सीमा उपलब्ध गराउने, आफूलाई अख्तियारी प्राप्त भएको १५ दिनभित्र विषयगत शाखा र वडा सचिवलाई कार्यक्रम र बजेटसहित प्रचलित कानुनबमोजिम खर्च गर्ने अख्तियारी दिने, गाउँपालिकाको कोषबाट खर्च भएको रकमको चौमासिक प्रगति त्यस्तो अवधि समाप्त भएको १५ दिनभित्र गाउँपालिकाको बैठकमा पेस गर्ने र कार्यालयको व्यवस्थापन, दैनिक कार्य सञ्चालन तथा कार्यरत कर्मचारीको सुपरिवेक्षण, नियन्त्रण र नियमन गर्ने, आवश्यकताअनुसार काजमा खटाउने तथा सरुवा गर्ने, उत्कृष्ट कर्मचारीलाई पुरस्कारका लागि सिफारिस गर्ने र कर्मचारीको ग्रेड थपसहितका कार्यलाई प्रभावकारी बनाउने कार्य सम्पादन सम्झौतामा उल्लेख छ। 

यस्तै, घुम्ती सेवा सञ्चालन गर्ने, सेवा वितरण प्रक्रियाको प्रभावकारिता मापन र सेवा वितरणमा सेवाग्राहीको सल्लाहका लागि समयसमयमा सार्वजनिक सुनुवाइ गर्ने, शाखा प्रमुखसँग प्रमुख प्रशासकीय अधिकृतले कार्य सम्पादन सम्झौता गर्ने, बेरुजुको लगत राख्ने साथै बेरुजु फर्स्योट गराउने, लिलाम बिक्री गराउने, राजस्व सङ्कलन र दाखिला गर्ने, गाउँपालिका तथा वडापालिकाहरूबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त एवम् सेवाग्राहीमैत्री बनाउने र प्रचलित कानुनबमोजिम हुने अन्य कार्यहरू प्रभावकारी ढङ्गले गर्नेगरी सम्झौता भएको छ। 

कार्य सम्पादन सम्झौताअनुसारको प्रगति गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग र प्रमुख प्रशासकीय अधिकृतले विषयगत शाखाका प्रमुखसँग नियमित रूपमा लिने सहमति भएको पालिका अध्यक्ष मेन्याङ्वोले जानकारी दिए। पालिका उपाध्यक्ष रनमाया गुरुङको उपस्थितिमा पालिका अध्यक्ष मेन्याङ्वोसँग कार्य सम्पादन सम्झौता गरेका प्रमुख प्रशासकीय अधिकृत पौडेलले विषयगत शाखाका प्रमुखसँग कार्य सम्पादन सम्झौता गरेका छन्। विषयगत शाखाबाट प्रवाह हुने सेवालाई सहज, सरल, पारदर्शी, जनमैत्री, मितव्ययी बनाउने जस्ता विषयमा केन्द्रित गरेर प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका प्रमुखबिच कार्य सम्पादन सम्झौता भएको छ।

प्रकाशित: १४ भाद्र २०८२ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App