२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

तातोपानीमा उपभोक्ता समिति दक्षता तालिम

जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ का लागि सञ्चालनमा रहेका भौतिक पूर्वाधार तथा सामुदायिक विकास योजनालाई थप प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन चारदिने व्यापक क्षमता विकास तालिम सम्पन्न गरेको छ।  

गाउँपालिकाका ८ वटै वडाका २ सय ६० भन्दा बढी उपभोक्ता समिति अध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागी उक्त तालिम स्थानीय तहमा हालसम्म सञ्चालन भएका कार्यक्रमहरूमध्ये सबैभन्दा समन्वित, व्यवस्थित र उद्देश्य–केन्द्रित प्रशिक्षणका रूपमा मूल्याङ्कन गरिएको छ। तालिम वडाअनुसार विभाजन गरी बहु–केन्द्रमा सञ्चालन गरिएको थियो।  

वडा १, २ र ३ को तालिम गाउँपालिका केन्द्रमा, वडा ४, ५ र ६ को ऐरेनिमा, वडा ७ को लामाबेगरमा तथा वडा ८ को तालिम टोप्ला पारिवाडामा सम्पन्न गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

यसले दुर्गम भेगका सहभागीलाई समेत सहज पहुँच सुनिश्चित गरेको स्थानीय तहका पदाधिकारीहरूको अभिमत छ।तालिममा योजना सम्झौता, कार्यान्वयनका चरण, भुक्तानी प्रणाली, प्राविधिक मापदण्ड, निर्माणका गुणस्तर मानक र लेखा प्रणालीको पारदर्शी उपयोग सम्बन्धी विषयमा विशेषज्ञद्वारा विस्तृत प्रशिक्षण दिइयो।स्थानीय संरचनालाई दिगो बनाउन नियमित मर्मत–सम्भार र समुदायको भूमिकाबारे पनि गहन छलफल गरिएको सूचना अधिकारी ओमबहादुर चन्दले बताए।

उनका अनुसार यस वर्षका सबै योजनाहरू वैशाख मसान्तभित्रै सम्पन्न गरी भुक्तानी प्रक्रिया छिटो, निष्पक्ष र प्राविधिक रूपमा व्यवस्थित बनाउन तालिमले व्यावहारिक मार्गदर्शन प्रदान गरेको छ। ‘उपभोक्ता समितिका पदाधिकारीको दक्षता बढेसँगै सेवा प्रवाहमा गुणात्मक सुधार आउनेछ,’ उनले भने।

सूचना अधिकारी चन्दका अनुसार तालिमले योजनाको पारदर्शिता, वित्तीय अनुशासन र पुँजीगत खर्च वृद्धिमा महत्त्वपूर्ण आधार निर्माण गरेको छ। ‘योजनाको रकम जिम्मेवारीपूर्वक र उद्देश्यअनुरूप खर्च हुनुपर्छ। तालिमपछि वित्तीय प्रणाली अझै पारदर्शी, व्यवस्थित र उत्तरदायी हुनेछ,’ उनले जोड दिए।

यता गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले योजनाको गुणस्तर, दीर्घकालीन उपयोगिता र सामाजिक स्वामित्व उपभोक्ता समितिको प्राथमिक जिम्मेवारी रहेको बताइन्। ‘हामी दिगो संरचना र समुदाय–केन्द्रित विकासको पक्षमा छौँ। तालिमले यसप्रति सरोकारवाला सबैको चेतना र प्रतिबद्धता बढाएको छ,’ रावलले भनिन्। गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन हुने विकास तथा निर्माण कार्यलाई स्थानीय स्तरमै स्वामित्वयुक्त, पारदर्शी र उत्तरदायी बनाउने नीतिअनुरूप यस्ता तालिमलाई स्थायी कार्यक्रमका रूपमा लैजाने तयारी गरेको छ।

आगामी वर्षहरूमा आयोजना व्यवस्थापन, सामुदायिक क्षमता अभिवृद्धि र प्राविधिक नेतृत्व विकासमा अझ सुदृढता ल्याइने जनाइएको छ।तालिम सम्पन्नसँगै तातोपानी गाउँपालिका सुशासन, पारदर्शिता र गुणस्तरीय विकासतर्फ थप दृढताका साथ अगाडि बढेको स्पष्ट सङ्केत मिलेको छ।

प्रकाशित: १० मंसिर २०८२ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App