गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथ सम्पन्न भएसँगै आवागमन सहज भएको छ।
पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो। घरपझोङ गाउँपालिका अन्तर्गत सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १०।५ किलोमिटरको चक्रपथ हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए।
विसं २०७७ माघसम्म निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ असार २६ गते ठेक्का सम्झौता भएको थियो। कोभिड महामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारणले काम सम्पन्न हुन नसकेको उनले उल्लेख गरे।
सुरुआती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिए पनि पटकपटक म्याद थप गरी सात वर्षमा निर्माण सम्पन्न भएको हो। इन्जिनियर पाण्डेका अनुसार उक्त चक्रपथ २१ करोड ३५ लाख ६१ हजार रुपैयाँ लागतमा बन्दन भगवती जलजला जेभी कन्ट्रक्सनले निर्माण गरेको हो। १० दशमलव ५ किलोमिटरमध्ये ५ दशमलव ५ किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको छ भने बाँकी भाग ग्राभेल गरिएको उनले बताए।
यसैबीच, निर्माण कम्पनीले ट्राफिक सङ्केतका चिह्न अङ्कित खम्बा गाड्ने, नाली सफा गर्ने तथा सडकका जोखिमयुक्त स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि बार लगाउनेलगायतका कार्य सम्पन्न गरिसकेको इन्जिनियर पाण्डेले जानकारी दिए।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिकास्थित कालिगण्डकी पारिका ओझेलमा परेका गाउँ जोड्ने उद्देश्यले चक्रपथ निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ।
घरपझोङ गाउँपालिकाका पाँचवटै वडा जोड्ने चक्रपथ निर्माण भएपछि स्थानीय नागरिकलाई सदरमुकाम जोमसोम आउजाउ गर्न सहज भएको घरपझोङ–५ का वडाध्यक्ष प्रदीप थकालीले बताए। उनका अनुसार यसअघि कालिगण्डकी पारिका गाउँमा सडकको पहुँच नहुँदा उत्पादित कृषिउपजको बजारीकरणमा समस्या हुने गरेको थियो।
त्यसैगरी, घरपझोङ चक्रपथ सडकअन्तर्गत जोमसोमबाट ढुम्बातालसम्म कालोपत्र विस्तार गरिएपछि मुक्तिनाथ दर्शन गरेर फर्किएका पर्यटकलाई आवागमनमा सहज भएको वडाध्यक्ष थकालीले बताए।
‘सडक स्तरोन्नतिसँगै मुक्तिनाथ हुँदै ढुम्बातालको अवलोकन गर्न आएका पर्यटकका लागि यातायात सुविधा विस्तार भएको छ। यसले पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ,’ उनले भने।
प्रकाशित: २० असार २०८३ १२:२८ शनिबार





