लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मनोनीत प्रदेश सदस्य तथा पूर्व एसएसपी बिक्रम सिंह थापालाई पदमुक्त गरेपछि नेपाली कांग्रेस कपिलवस्तुको आन्तरिक विवाद सडक संघर्षसम्म पुगेको छ।
थापाको पदमुक्तिको विरोधमा उनका समर्थकहरूले संघर्ष समिति गठन गर्दै पार्टी कार्यालयमा पुनः तालाबन्दी र रिले अनशनको घोषणा गरेका छन्।
गत साउन १५ गते पदमुक्त गरिएका थापाको पत्र भदौ १५ गते सार्वजनिक भएलगत्तै विवाद चर्किएको हो। आक्रोशित थापा समर्थकहरूले भदौ १७ गते तौलिहवामा विरोध प्रदर्शन गर्दै पार्टी कार्यालयमा तोडफोडसहित तालाबन्दी गरेका थिए।
त्यसको दुई दिनपछि, भदौ १९ गते, जिल्ला समितिले सुरक्षाकर्मीको उपस्थितिमा ताला तोडेर आकस्मिक बैठक डाकेको थियो। बैठकले तोडफोडमा संलग्नलाई कारबाही गर्न अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय गरेपछि थापा पक्ष थप रुष्ट बनेको हो।
उक्त घटनापछि पूर्वसांसद अभिषेक प्रताप शाह, क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, पूर्व आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह लगायतका प्रभावशाली नेताहरूको समर्थनमा थापा पक्षले छुट्टै भेला र बैठकहरू आयोजना गरेको थियो। सोही बैठकहरूले दिनेश हमालको संयोजकत्वमा संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो।
आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक हमालले आफूहरूका मागबारे पार्टी नेतृत्वले पटक-पटक बेवास्ता गरेकाले संघर्षमा उत्रिनु परेको बताए।
‘हाम्रा माग पूरा नगरी ताला खोलियो, त्यसैले हामी पुनः आन्दोलनमा जान बाध्य भयौं,’ उनले भने।
समितिले थापाको पुनर्बहालीसँगै कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र विजयनगर गाउँपालिकामा विधानविपरीत हटाइएका वडा तथा पालिका सभापतिहरूलाई पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ।
यी मागहरू पूरा नभएसम्म आइतबारदेखि पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी र रिले अनशन सुरु गर्ने हमालले घोषणा गरे।
सो अवसरमा बोल्दै नेता थापाले पार्टी विधि र विधानअनुसार नचलेको र आफूखुसी निर्णयहरू लाद्ने प्रवृत्ति बढेको आरोप लगाए।
यता, पार्टी जिल्ला सभापति अब्दुल कलामले भने थापाको पदमुक्ति प्रदेश सभापतिको निर्णय भएको र यसमा जिल्ला समितिको कुनै भूमिका नरहेको स्पष्ट पारे।
उनले जिल्ला पार्टी कार्यालयमा भएको तोडफोड र तालाबन्दीको निन्दा गर्दै अन्य विषयमा छलफल र समन्वयका लागि आफू सधैं तयार रहेको बताए।
प्रकाशित: २१ भाद्र २०८२ १९:३५ शनिबार


-600x400.jpg)


