१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

विश्वका चर्चित २४ वैज्ञानिकको निष्कर्ष : तापक्रम वृद्धिले भोटेकोशीमा बाढी

जलवायु परिवर्तनले उच्च हिमाली वातावरणलाई क्रमशः कमजोर बनाउँदै लगेका कारण भदौ १० मा रसुवामा भएको विनाशकारी हिम–चट्टान पतन र त्यसपछिको बाढीका लागि अनुकूल अवस्था बनेको एक अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनले देखाएको छ।

जलवायु परिवर्तनका कारण उत्पन्न विपद्को वैज्ञानिक अध्ययन गर्ने अन्तर्राष्ट्रिय अनुसन्धान समूह वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले गरेको अध्ययनमा हिमनदी पातलिँदै जानु, लामो समय जमेर रहने जमिन तथा चट्टान अर्थात् पर्माफ्रोस्ट पग्लिनु र चट्टानका चिरामा पानीको दबाब बढ्नुजस्ता प्रक्रियाले हिमाली भू–पर्यावरणलाई कमजोर बनाएको उल्लेख छ।

२४ जना अन्तर्राष्ट्रिय वैज्ञानिकले हिमनदी विज्ञान, जलविज्ञान, जलवायु विज्ञान र भूकम्प विज्ञानलगायतका क्षेत्रका प्रमाण विश्लेषण गरी गरेको अध्ययनअनुसार जलवायु परिवर्तन भदौ १० को विपद्को एकमात्र कारण भने होइन। दशकौँदेखि भइरहेको मानवजन्य तापक्रम वृद्धिले पर्वतीय संरचनालाई अस्थिर बनाउने पृष्ठभूमि तयार गरेको वैज्ञानिकहरूको निष्कर्ष छ।

अध्ययनले तापक्रम बढेसँगै हिमालयमा शून्य डिग्री सेल्सियसको सीमारेखा प्रत्येक दशकमा करिब १०० मिटर माथि सर्दै गएको जनाएको छ। यसले विगतमा स्थायी रूपमा जमेर रहने जमिन र चट्टानलाई लामो समयसम्म न्यानो र पग्लिने अवस्थामा राखेको छ।

लाङटाङ–लिरुङ क्षेत्रमा भएको हिम–चट्टान पतनपछि हिमपहिरो, गेग्रान र ठूलो परिमाणको पानी तीव्र गतिमा तल बगेको थियो। अध्ययनले यस घटनालाई जलवायु, भूगर्भ, बरफ र पानीबीचको जटिल अन्तरसम्बन्धबाट विकसित भएको जोखिमका रूपमा व्याख्या गरेको छ।

अध्ययनको विस्तृत प्रतिवेदन आज साँझ ५ः४५ बजे सार्वजनिक गरिनेछ।

प्रकाशित: १ आश्विन २०८३ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App