१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

फाइल तस्बिर

मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ। दसैंतिहार जस्ता ठूला चाड मुखैमा छन्। यही बेला मुलुक जेन - जी पुस्ताको आन्दोलनले प्रभावित छ। पर्यटकीय याम सुरु हुनै लाग्दा भएको आन्दोलनले पर्यटन क्षेत्र मारमा पर्ने देखिएको छ।

कोभिड–१९ महामारीपछि जेनतेन उठेको पर्यटन क्षेत्र पुनः शिथिल हुने भयले पर्यटन व्यवसायी चिन्तित छन्। ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यस्तै अवस्था लामो समय रहे विश्व पर्यटन बजारमा नेपालको नराम्रो सन्देश जाने बताए।

“असोज र कात्तिक सबैभन्दा बढी विदेशी पर्यटक आउने याम हो, ठ्याक्कै यही बेला आन्दोलन सुरु भयो, अन्याेलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन्”, उनले भने, “जति सक्दो चाँडो नेपाल सुरक्षित छ भन्ने सन्देश दिन नसके हाम्रो पर्यटन क्षेत्रले ठूलो असर व्यहोर्नुपर्छ, यसको घाटा देशलाई पर्छ।”

उनले अहिले नेपाल आइसकेका विदेशी पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यस्थलसम्म पुर्‍याउने काममा ‘टान’ लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको बताए। यो याममा विशेष गरी पदयात्राका लागि विदेशी पर्यटक आउँछन्।

अध्यक्ष आचार्यले छिटो राजनीतिक वातावरण सुधारेर मुलुकलाई सामान्य अवस्थामा नफर्काएसम्म पर्यटन क्षेत्र चलायमान हुन नसक्ने बताए। चाडपर्वका अवसरमा घुमफिरको योजना बनाएका आन्तरिक पर्यटकलाई अहिलेको अवस्थाले अन्याेल थपेको उनको भनाइ छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले यो याममा पर्यटक आगमनमा असर पर्ने देखिएको बताए। “तथ्याङ्कगत रूपमा हेर्न अझै केही दिन कुनुपर्छ तर अहिलेको आन्दोलनले पर्यटन क्षेत्रमा असर भने पक्कै गर्छ”, उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमाझ परिचित गन्तव्य हो। गत आवमा उक्त क्षेत्रमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक भित्रिएका थिए। तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक रहेका थिए। वर्षात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ।

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेकाे अहिले मुलुकमा देखिएको असहज परिस्थितिले पर्यटक आगमनमा असर पर्ने देखिएको आयोजना कार्यालयले जनाएको छ।

मुक्तिनाथ लगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन्।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: २८ भाद्र २०८२ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App