ठिक एक वर्षअघि नेपालगन्ज–१२ का रमेश थापा सवारीसाधनको कर तिर्न यातायात व्यवस्था कार्यालय पुगेका थिए। बिहानै कार्यालय पुगे पनि उनको काम साँझतिर मात्रै सकिएको थियो। कार्यालयको एउटा कोठाबाट अर्को कोठा धाउँदाधाउँदै हैरान भएका उनले अन्ततः काम लिन कार्यालय परिसरमै सक्रिय बिचौलियाको सहारा लिनुपरेको थियो। अतिरिक्त रकम तिरेको केही मिनेटमै काम भएपछि उनलाई लागेको थियो– सरकारी कार्यालयमा पैसा नतिरी वा चिनजानबिना काम हुँदैन।
ठ्याक्कै एक वर्षपछि उनी फेरि त्यही कार्यालयमा पुगे। यसपटक न कसैले ढोकामै रोकेर काम गराइदिन्छु भने न कर्मचारीले नै अनावश्यक दुःख दिए। ‘उही कार्यालय हो भनेर विश्वास गर्नै गाह्रो भयो’, थापाले भने, ‘पहिले काम बनाउन बिचौलिया खोज्नुपर्ने अवस्था थियो तर अहिले कर्मचारीले नै प्रक्रिया बुझाएर काम गरिदिए।’ थापाको यो अनुभव एउटा व्यक्तिको मात्रै कथा होइन, बाँकेका सरकारी कार्यालयमा कर्मचारीको कार्यशैलीमा देखिएको परिवर्तनको प्रतिनिधिमूलक चित्र हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको एक सय दिन पुगेको छ। गठनसँगै सुशासनलाई पहिलो प्राथमिकतामा दिएको सरकार सेवा प्रवाहलाई पारदर्शी र नागरिकमैत्री बनाउने अभियानमा छ। बाँकेका केही सरकारी कार्यालयमा कर्मचारीको कार्यशैलीमा देखिएको परिवर्तनले सकारात्मक सन्देश दिएको अनुभूति जनताले गरेका छन्।
केही महिनाअघिसम्म नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा काम लिन पुग्ने सेवाग्राहीलाई बिचौलियाले घेर्थे। सेवाग्राही पनि कर्मचारीको ढिलासुस्ती, बहानाबाजी र झन्झटिला प्रक्रियाले निराश हुन्थे। धेरैजसो सेवाग्राही अतिरिक्त रकम तिरेर बिचौलियामार्फत काम गराउन बाध्य हुन्थे। अहिले भने अवस्था बदलिएको छ। सेवाग्राही आफैं आवश्यक कागजात बोकेर सम्बन्धित शाखामा पुग्छन्, कर्मचारीबाट प्रक्रिया बुझ्छन् र पालोमा सेवा लिएर फर्किन्छन्। कार्यालय परिसरमा बिचौलियाको खुलेआम गतिविधि लगभग देखिँदैन। यातायात व्यवस्था कार्यालयमा मात्र होइन, अन्य कार्यालय पनि लगभग बिचौलियामुक्त देखिन्छन्।
नेपालगन्ज–१८ कि मीना चौधरीले पनि दुई फरक समयका फरकफरक अनुभव सुनाइन्। केही महिनाअघि जग्गा नामसारीको काम लिएर भूमि प्रशासन कार्यालय पुग्दा उनलाई प्रक्रिया निकै जटिल छ भन्दै बिचौलियाले घेरेका थिए। ‘धेरै दिन लाग्छ’ भन्दै बिचौलियाले अतिरिक्त रकम मागेपछि उनले सोहीअनुसार काम गराएकी थिइन्। केही दिनअघि अर्को कामका लागि पुनः त्यही कार्यालय पुग्दा उनले पहिलेभन्दा बिल्कुल फरक वातावरण भेटिन्। सूचना कक्षबाट आवश्यक जानकारी पाइन्। सम्बन्धित शाखाका कर्मचारीले आवश्यक प्रक्रिया स्पष्ट रूपमा बुझाइदिए। कुनै अतिरिक्त रकम खर्च नगरी उनको काम भयो। ‘पहिले सरकारी कार्यालयभित्र छिर्नसाथ कसैले न कसैले पैसा माग्थ्यो’, उनी भन्छिन्, ‘अहिले काम सहज रुपमा लिन सक्ने वातावरण बनेको रहेछ।’
खजुरा गाउँपालिकाका अर्जुन विक पनि सवारीचालक अनुमतिपत्र नवीकरणका लागि यातायाता व्यवस्था कार्यालय पुग्दा पहिलाभन्दा फरक पाएको बताउँछन्। उनको पहिलो अनुभव निराशाजनक थियो। पहिला आवश्यक सबै कागजात हुँदाहुँदै पनि कर्मचारीले अनेक बहाना बनाएर पटकपटक फर्काइदिएको र अन्ततः बिचौलियालाई पैसा दिएपछि मात्रै काम भएको उनले सम्झिए। यस पटक भने उनले कार्यालयमै काम लिन चाहिने आवश्यक कागजातको सूची टाँसिएको देखे। कर्मचारीले प्रक्रिया स्पष्ट रूपमा बुझाइदिए। उनले कामका लागि निर्धारित शुल्कबाहेक कुनै अतिरिक्त रकम खर्च गर्नुपरेन। ‘पहिले सरकारी कार्यालय जानु नपरे हुन्थ्यो भन्ने लाग्थ्यो’, विक भन्छन्, ‘अहिले नियमअनुसार प्रक्रिया पूरा गरेपछि सहज रूपमा काम भयो।’
यातायात व्यवस्था कार्यालय र भूमि प्रशासन कार्यालयमा देखिएको यो परिवर्तन प्रशासनिक सक्रियतासँग पनि जोडिएको छ। कार्यालय परिसरमा अनधिकृत रूपमा सेवाग्राहीसँग कामका लागि पैसा माग्ने र सरकारी प्रक्रियामा हस्तक्षेप गर्ने बिचौलियामाथि निगरानी बढाइएको छ। आवश्यक परे प्रहरीको सहयोगसमेत लिइन्छ। केही बिचौलियालाई नियन्त्रणमा लिएपछि कार्यालयको वातावरण थप व्यवस्थित बनेको सम्बन्धित निकायको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता महेश गुरुङ सरकारी कार्यालयमा हुने ‘बिचौलियातन्त्र’ अन्त्यतर्फ उन्मुख भएको बताउँछन्। उनका अनुसार अहिले अधिकांश कार्यालयमा सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरेपछि बिनाझन्झट सेवा पाउँछन्। ‘सरकारी सेवा नागरिकको अधिकार हो’, गुरुङ भन्छन्, ‘सेवाग्राहीलाई अनावश्यक दुःख नहोस्, कानुनी प्रक्रिया पूरा गरेर सकेसम्म व्यावहारिक ढंगले सेवा दिन सबै कार्यालयमा समन्वय र सहजीकरण गरिएको छ।’
सेवाग्राहीहरूका अनुसार यो परिवर्तन कुनै सरकारको सय दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन। नागरिकले सरकारी कार्यालयमा बिनासिफारिस, अतिरिक्त खर्च र बिचौलियाको सहाराबिना काम गर्न सक्नु नै सुशासन हो। यसलाई अझै थप व्यवस्थित बनाउनु पर्छ।
प्रकाशित: २२ असार २०८३ १२:०६ सोमबार



-600x400.jpg)

