श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले हजारौँ सहिदको बलिदानीबाट स्थापित वर्तमान व्यवस्थामाथि कुनै पनि प्रकारको छेडखानी नगर्न चेतावनी दिएका छन्। उनले संविधान संशोधनका नाममा सङ्घीयता, समावेशीता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गरिए देश फेरि अस्थिरताको बाटोमा धकेलिन सक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा भावुक शैलीमा सम्बोधन सुरु गर्दै साम्पाङले सहिद र आमाहरूको बलिदान सम्झिँदै वर्तमान नेपालको अवस्थामाथि गम्भीर प्रश्न उठाए।
‘निद्रा लाग्दैन, मलाई निद्रा लाग्दैन। सपनीमा हजारौँ सहिदहरू आएर सोध्छन्, “खोइ त त्यो नेपाल, जसका निम्ति हामीले आहुति दियौँ?” विपनीमा हजारौँ आमा आएर सोध्छन्, “खोइ त त्यो नेपाल, जसका निम्ति हामीले कोख रित्यायौँ?”’ उनले भने।
साम्पाङले अब देशलाई समृद्धिको दिशामा अघि बढाउन हिंसात्मक आन्दोलन होइन, श्रम र उत्पादनमा आधारित ‘पसिनाको क्रान्ति’ आवश्यक रहेको धारणा राखे।
‘हामी यहाँ दुई–दुई घण्टा भाषण गरेर बसे पनि काम गर्न सक्दैनौँ, कामप्रतिको हाम्रो सोच परिवर्तन गर्न सक्दैनौँ भने देशले समृद्धि हासिल गर्न सक्दैन,’ उनले भने।
उनले संविधान संशोधनको बहसलाई लक्षित गर्दै सङ्घीयता, समावेशीता र धर्मनिरपेक्षता जस्ता व्यवस्थामाथि हस्तक्षेप गर्ने प्रयास भए त्यसले फेरि अर्को दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए।
प्रकाशित: २२ असार २०८३ १५:०८ सोमबार





