देशका विभिन्न क्षेत्रमा मंगलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेले आइतबार बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए।
हाल देशको वायुमण्डलमा उच्च चापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
'यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ', मौसमविद् लामिछानेले भने।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १४:१८ आइतबार





