कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइबाट बुझ्दै जलवायु कार्य र नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित ‘लोकल कन्फरेन्स अफ युथ’लाई सम्बोधन गर्दै डा ढकालले बदलिँदो जलवायु परिस्थितिमा युवाहरूले आफ्नो भूमिका पहिचान गर्न आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तनलाई सतही रूपमा नभई यसको प्रभाव, समाधान र न्यायका पक्षलाई समेत समेटेर बुझ्नुपर्नेमा जोड दिए।
पेरिस सम्झौताले तय गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसभित्र सीमित गर्ने लक्ष्य र ‘साझा तर विभेदित जिम्मेवारी तथा सम्बन्धित क्षमता’ को सिद्धान्तलाई युवाहरूले बुझ्नुपर्ने उनको भनाइ थियो।
‘तपाईंको लागि १ दशमलव ५ डिग्री भनेको के होरु सिबिडिआर आरसी भनेको के हो ? र तपाईंले खेल्नुपर्ने भूमिकाहरू के हुन् भन्ने कुरामा पनि छलफल गर्नुपर्छ।’ उनले भने।
डा ढकालले युवाहरू नवप्रवर्तनकर्ता, परिवर्तनका संवाहक र भविष्यको आशा भएकाले उनीहरूको बोल्ने, लेख्ने, प्रस्तुत गर्ने र सुन्ने शैलीले नेपालको भविष्यलाई मार्गदर्शन गर्ने बताए। उनले पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अझ अनुशासित, जिम्मेवार, नम्र र विनम्र हुनुपर्नेमा समेत जोड दिए।
जलवायु परिवर्तनका चुनौतीलाई रोजगारी र आर्थिक अवसरसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले हरित अर्थतन्त्रमार्फत युवाका लागि रोजगारी, आम्दानी र समृद्धिको नयाँ बाटो निर्माण गर्न सकिने बताए।
उनले जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका लागि अन्तर्राष्ट्रियस्तरमा पैरवी आवश्यक भए पनि नेपालमा उपलब्ध स्रोत र साधनको सही सदुपयोगमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए।
‘नेपालमा भएका स्रोत र साधन के–के छन् र ती स्रोतलाई युवाको जीवनको अंग कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्छ,’ उनले भने।
युवाहरूले स्थानीय सरकारसँग सहकार्य गरेर जलवायु कार्य अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। स्थानीय तहसँग स्थानीय समस्या, स्रोतसाधन र जलवायुजन्य जोखिमबारे प्रत्यक्ष जानकारी हुने भएकाले स्थानीय सरकारसँगको सहकार्य प्रभावकारी हुने उनको भनाइ थियो।
डा ढकालले सम्मेलनबाट तयार हुने आधारपत्र र निष्कर्षलाई नेपालको जलवायु सम्बन्धी ‘कन्ट्री पोजिसन पेपर’मा समावेश गर्ने विश्वाससमेत व्यक्त गरे। युवाहरूको आवाजलाई जलवायु कार्य र जलवायु न्यायसँग जोडेर आगामी कोपमा प्रस्तुत गर्नुपर्ने उनले बताए।
प्रकाशित: २९ श्रावण २०८३ १५:५५ शुक्रबार





