भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले प्रसिद्ध नीलबाराही क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेसँगै नगरपालिका र स्थानीय अभियानकर्मीबीच टकराव सिर्जना भएको छ।
१० वर्षदेखि नगरपालिकाले आश्वासन मात्र दिएको भन्दै १०० दिनदेखि जनश्रमदानबाट पहिरो रोकथाममा जुटेका स्थानीयको डोजर प्रहरीले नियन्त्रणमा लिएपछि विवाद चर्किएको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नीलबाराही क्षेत्रलाई दुई वर्षभित्र २० करोड रुपैयाँ लगानी गरी आकर्षक गन्तव्य बनाउने घोषणा गरे।
तत्कालका लागि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणको ९ करोड ४३ लाख रुपैयाँको लागतमा पहिरो नियन्त्रणको काम बुधबारदेखि नै सुरु हुने उनले सुनाए।
कार्यक्रममा योजनाको त्रि-आयामिक (3D) डिजाइनसमेत सार्वजनिक गरिएको थियो।
यसअघि यो योजना सार्वजनिक गर्ने कार्यक्रम नीलबाराही क्षेत्रमै तय गरिए पनि स्थानीयको विरोधका कारण स्थगित गरी नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
जनश्रमदान गरिरहेका स्थानीय आन्दोलनमा
नगरपालिकाको योजना सार्वजनिक हुनुअघि नै स्थानीयहरू ‘श्री नीलबाराही क्षेत्र बचाऔं अभियान’ मार्फत जनश्रमदानमा जुटिरहेका थिए। नगरपालिकाले १० वर्षदेखि पहिरो नियन्त्रणमा बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले १०० दिनदेखि स्वयंसेवी रूपमा काम गर्दै आएका थिए।
तर, सोमबार प्रहरीले अभियानले प्रयोग गरिरहेको डोजर नियन्त्रणमा लिएपछि स्थानीयहरू आन्दोलित भएका हुन्।
उनीहरूले डोजर फिर्ताको माग गर्दै चाँगुनारायण नगरपालिका-२ स्थित दुवाकोट प्रहरी प्रभागमा धर्ना दिइरहेका छन्। घटनाले नगरपालिका र स्थानीय अभियानकर्मीबीचको दूरी बढाएको छ।
श्री नीलबाराही क्षेत्र सरोकार समितिका सचिव अनिश वैद्यले नगरपालिकाको योजनाप्रति विश्वास नभएको बताए। “उहाँहरूले काम गर्ने भनेको १० वर्ष भइसक्यो, तर आजसम्म केही भएन। त्यसैले हामी आफैं जुटेका हौं,” उनले भने।
काठमाडौं उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक नीलबाराही करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ। ऐतिहासिक मन्दिर लामो समयदेखि पहिरोको उच्च जोखिममा रहँदै आएको छ र हालसम्म प्लास्टिकले छोपेर जोगाउने प्रयास गरिएको छ।
प्रकाशित: ३ भाद्र २०८२ २०:०३ मंगलबार





