धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुर रुपैठामा दशैं समापनपछि दुर्गा प्रतिमा विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबिच फेरि झडप भएको छ। स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
शुक्रबार साँझ दुर्गादेवीको प्रतिमा विसर्जनमा अवरोध भएपछि दुई समुदायबिच विवाद चर्किएको थियो। भिडन्तका क्रममा ढुङ्गा मुढा भएपछि अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाइएको टहरा आगजनी गरेका थिए। आक्रोशित भीडले केही घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले २३ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ। झडपका क्रममा ढुङ्गा मुढाबाट केही प्रहरीसहित स्थानीयहरू घाइते भएका छन्।
घटनापछि प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले साँझ ६:३० बजेदेखि लागू हुने गरी रुपैठा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन्। आदेशअनुसार पूर्वमा लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गंगुली पुलसम्मको क्षेत्रमा सभा, जुलुस, भेला वा कुनै पनि सामूहिक गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
गत महिना गणेश पूजापछि मूर्ति विसर्जनमा पनि त्यही समुदायबिच झडप भएको थियो। पुनः दसैँको मूर्ति विसर्जनमा विवाद चर्किएपछि रुपैठा फेरि तनावग्रस्त बनेको हो।

प्रकाशित: १७ आश्विन २०८२ २२:१२ शुक्रबार





