सशस्त्र प्रहरीको गोली प्रहारबाट बिहीबार बिहान सुनसरी कोशी गाउँपालिका वडा नं. १, लौकहीमा एक जना सिटी सफारी चालकको हत्या भएपछि बिहीबार बिहानैदेखि स्थिति तनाबग्रस्त बन्यो । बिहान १ बजे सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय सिटी सफारी चालक करिब ४४ वर्षीय विजय साहको मृत्यु भएपछि स्थिति तनाबग्रस्त बनेको हो ।
स्थानीयले लौकही बजारमा रहेको सशस्त्र प्रहरीको ड्यूटी गर्ने एउटा विटमा आगजनी गरे । स्थानीयले बिहानैदेखि लौकही बजारमा मृतक साहको शव सडकमै राखेर प्रदर्शन गरेकोमा पीडित र प्रशासन पक्षबीच वार्ता भएर सहमति भएपछि दिउँसो ४ बजेतिर मात्र सहज बन्यो । समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधीको रोहबरमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच पाँच बुँदे सहमति भएको हो ।
सहमति अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरीका डीएसपी तथा राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर सदस्य रहने तीन सदस्यीय छानविन समिति गठन भएको छ । त्यस्तै मृतककी श्रीमतीलाई रोजगारी खोज्न पहल गर्ने सहमति भएको छ भने मृतकका २१ वर्षे छोरालाई सशस्त्र प्रहरीका भर्ना हुन सहजीकरण गर्ने समझदारी भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । उनका अनुसार छानबीन गर्दा लापरबाही भएको देखिएमा प्रशासनले पीडित पक्षका लागि राहत दिन सरकार सिफारिस गर्ने निर्णय गरेको छ । सहमतिमा सडकमा राखिएको शव प्रहरीलाई पोष्टमार्टम गर्न दिने पनि निर्णय भए अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
चार बजेतिर प्रहरीले शव बुझेर पोष्टमार्टमका लागि धरान लगेपछि लौकहीको स्थिति सामान्य भएको पत्रकारसमेत रहेका स्थानीय पवन रौनियारले बताए । चार बजेपछिदेखि अबरुद्द यातायातसमेत सञ्चालन भएको छ ।
भारतीय सीमाबाट करिब ५०० मिटर उत्तरतर्फ पर्ने क्षेत्रमा साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरि हत्या गरेपछि बिहीबार बिहानैदेखि लौकहीमा भएको प्रदर्शनका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन २९ राउण्ड अश्रृग्यास प्रहार गरेको डिएसपी चन्द्र खड्काले बताए । स्थानीयले प्रदर्शन गर्दा पटक पटक प्रहरीसँग झडप समेत हुन पुगेको थियो । केही व्यक्ति सामान्य घाइते समेत भएका छन् ।
सिटी सफारीमा चिनी, सरफ र सुर्तीजन्य पदार्थ ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सिटी सफारी चालक साहलाई गोली प्रहार गरेको थियो । सशस्त्र प्रहरीको कोशी प्रदेशस्तरीय मुख्यालय पकली सुनसरीका डिआइजी कुमार न्यौपानेले मृतकसँगै तीनवटा सफारीमा सामान भारतबाट ल्याएको र त्यसक्रममा प्रहरीलाई निसाना बनाएर गोली प्रहार भएकाले गर्दा जवाफी फायर गरेको जिकिर गरे । उनका अनुसार तीनवटा सफारीमध्ये दुईवटा सफारी चालकले सामान कटाए । ‘तीनवटा सफारी चालकमध्येबाटै सशस्त्र प्रहरीलाई गोली प्रहार गरेपछि जवाफी फायर गर्दा एक जनाको मृत्यु हुन पुग्यो,’ डिआइजी न्यौपानेले भने ।
घटनापछि प्रहरी टोलीले घटनास्थलबाट ठूला हतियारका दुईवटा खोका बरामद गरेको छ ।
प्रकाशित: १७ पुस २०८२ १८:४६ बिहीबार





