रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । मृत्यु भएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गरेका छन्।
बिहीबार दिउँसो रुकुम पूर्वको रुकुमकोटबाट जलजलातर्फ जाँदै गरेको जीप थबाङ गाउँपालिका–१ र ४ को सिमानास्थित डाँडामा दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाले सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई करिब ८०० मिटर तल उवातर्फ खसेको थियो। अत्यधिक वर्षाका कारण उद्धार कार्य तथा थप विवरण संकलनमा समेत कठिनाइ भएको जनाइएको छ।
घटनाप्रति प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्री आचार्यले भविष्यमा यस्ता दुःखद् घटना दोहोरिन नदिन सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले जोखिमयुक्त सडकमा आवश्यक सुधार, नियमित अनुगमन तथा सुरक्षित यातायात व्यवस्थापनमा सम्बन्धित निकायलाई थप जिम्मेवार बन्न आग्रह गरेका छन्।
प्रकाशित: १७ वैशाख २०८३ १९:२३ बिहीबार


-600x400.jpg)


