रसुवाको सीमावर्ती टिमुरे क्षेत्रमा नदी तथा बाढीको अवस्था ‘रियल-टाइम’ अवलोकन र निगरानी गर्न सीसी क्यामेरा जडान कार्य सम्पन्न भएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा जडान गरिएको उक्त निगरानी प्रणाली सम्भवतः आज रातिदेखि नै पूर्ण रूपमा सञ्चालनमा आउनेछ।
हाल उक्त प्रणालीलाई सक्रिय बनाउन भी-स्याट जडान तथा सञ्चार व्यवस्थापनको अन्तिम चरणको काम भइरहेको छ।
जडान गरिएको सीसी क्यामेरामार्फत टिमुरे-रसुवागढी क्षेत्रमा नदीको बहाव र बाढीको अवस्थालाई प्रत्यक्ष दृश्यसहित २४ सै घण्टा निगरानी गर्न सकिनेछ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अधिकारी तथा सम्बन्धित विज्ञहरूसँग रसुवा-नुवाकोटसहितका प्रभावित क्षेत्रमा मौसम तथा बाढीको सम्भावित जोखिमबारे छलफल गरेका थिए।
छलफलका क्रममा नदीको अवस्था निरन्तर निगरानी गर्न, पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन र जोखिम न्यूनीकरणका तयारी तीव्र पार्न मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए।
सोही छलफलको निष्कर्षअनुसार पूर्वसूचना प्रणालीलाई थप भरपर्दो बनाउन टिमुरेमा यो प्रविधि जडान गरिएको हो।
सीसी क्यामेराबाट प्राप्त हुने प्रत्यक्ष सूचना तथा दृश्यलाई विभागको २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीमा एकीकृत गरिनेछ।
विशेषगरी सीमावर्ती संवेदनशील क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित खतरा तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचान गर्न यसले मद्दत पुर्याउनेछ।
प्रकाशित: १५ भाद्र २०८३ १९:४४ सोमबार



-600x400.jpg)

