शनिबार विहानैदेखि भइरहेको अविरल वर्षाका कारण उदयपुरमा कार बगाएको छ। आइतबार विहान अन्दाजी १ः४५ बजे चौदण्डीगढी नगरपालिका ४ बसाहास्थित सुन्दरी खोलाले कार बगाएको प्रहरीले जनाएको छ।
चौदण्डीगढी नगरमुकाम बेल्टारबाट सप्तरीको फत्तेपुरतर्फ जादै गरेको प्र ३–०१–०२२ च २३१३ नं. को बसाहा मेजर चौतारास्थित सँधै सुख्खा रहेको सुन्दरी खोलाको कजवे पार गर्ने क्रममा बाढीले बगाएर सडकभन्दा ५० मिटर पश्चिम पुग्ने गरी बगाएको हो।
कार बगाए पनि चालक मोरङ कटहरी गाउँपालिका १का ३५ वर्षीय जीवन कार्कीसहित कारमा सवार ६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। कार बगाएको जानकारी पाएलगत्तै खटेको प्रहरी चौकी बसाहाको टोलीले कारमा सवार यात्रुको सकुशल उद्धार गरेको छ।
प्रहरीले यात्रु र स्थानीयको सहयोगमा आइतबार विहान ६ः३० बजे कार पनि सुरक्षितस्थानमा निकाल्न सफल भएको जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८२ १३:२१ आइतबार





