२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

केरुङ र तातोपानी नाका बन्द हुँदा कोरला पुगे व्यवसायी, ढुवानी भाडाले बढायो चिन्ता

रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि चीनसँग जोडिएका उत्तरी नाकाहरू प्रभावित हुँदा नेपाल–चीन व्यापारमा प्रत्यक्ष असर परेको छ।

केरुङ नाका बन्द तथा तातोपानी नाकालाई चिनियाँ अधिकारीले ‘हाइ रिस्क’ क्षेत्र भन्दै अस्थायी रूपमा भन्सार कारोबार रोकेपछि नाका सम्बद्ध व्यवसायीहरू वैकल्पिक मार्ग खोज्दै मुस्ताङको कोरला नाकातर्फ जान थालेका छन्।

रसुवाको केरुङ नाकामा बाढीअघि नै चीनबाट आयात गरिएका फलफूललगायतका सामान रोकिएपछि व्यवसायीहरूले ती सामान मुस्ताङको कोरला नाका हुँदै नेपाल ल्याउने प्रयास गरिरहेका छन्। तर कोरला नाकाबाट सामान ढुवानी गर्दा तातोपानी वा केरुङको तुलनामा यातायात खर्च अत्यधिक महँगो पर्ने भएकाले त्यसको प्रत्यक्ष असर बजार मूल्यमा पर्ने व्यवसायीहरूको भनाइ छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ सदस्य शारदा पराजुलीका अनुसार अहिले चीनबाट फलफूल तथा दैनिक उपभोग्य वस्तु आयात गर्न व्यवसायीले निकै कठिन अवस्था भोगिरहेका छन्।

'अहिले यो नाका हुँदै फलफूल आयात गर्दा निकै कठिन समस्या भोग्नुपरेको छ। कठिन परिस्थिति र बढेको ढुवानी खर्चका कारण बजार महँगो हुने अवस्था देखिएको छ,' पराजुलीले भने।

उनका अनुसार कोरला नाकाबाट सामान ल्याउँदा ढुवानी भाडा झन्डै दोब्बरभन्दा बढी पर्ने अवस्था छ। त्यसैले यस्तो संवेदनशील समयमा सरकारले चीनसँग कूटनीतिक पहल गरी ऐतिहासिक उत्तरी नाका तातोपानीलाई तत्काल सहज रूपमा सञ्चालनमा ल्याउनुपर्ने उनको माग छ।

सीमापार वाणिज्य संघका सदस्य तथा फलफूल व्यवसायी राजेश भण्डारी पनि अहिले केरुङमा रोकिएका सामान कोरला नाका हुँदै नेपाल ल्याउन सहज नभएको बताउँछन्।

'रसुवा बाढी आउनुअघि चीनबाट पठाइएको र अहिले केरुङमा रोकिएको फलफूल कोरला हुँदै मुस्ताङ भन्सारबाट ल्याउने प्रयास गरिरहेका छौँ। तर यहाँबाट सामान ल्याउन त्यति सहज छैन,' भण्डारीले भने।

उनका अनुसार केरुङमा रोकिएका सामान अर्को नाकाबाट ल्याउँदा व्यवसायीले अतिरिक्त ढुवानी खर्च र विभिन्न प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था छ। यसको अन्तिम असर भने उपभोक्तामाथि पर्ने उनको भनाइ छ।

'रसुवा बाढीअघि चीनबाट ल्याउन पठाइएको सामान अहिले रोकिएको छ। त्यो सामान नेपाल ल्याउनै कठिन अवस्था सिर्जना भएको छ। यसको प्रत्यक्ष असर आम नागरिकमा पर्छ। नेपालीहरूको महान् पर्व दसैँ–तिहार नजिकिँदै गर्दा बजारमा सामानको मूल्य अझ बढ्न सक्ने जोखिम छ,' भण्डारीले भने।

दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा फलफूल तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले उत्तरी नाकाबाट आयात सहज नहुँदा बजार आपूर्तिमा समेत समस्या आउन सक्ने व्यवसायीहरूको चिन्ता छ।

भण्डारीले आयातकर्ताका लागि तातोपानी नाका सहज बनाउन सके व्यवसायी मात्र नभई आम उपभोक्तालाई समेत राहत पुग्ने बताए।

'सरकारले तत्काल कूटनीतिक पहल गरेर तातोपानी नाकालाई पूर्ववत् रूपमा सञ्चालन गर्नुपर्छ। नाका सहज भए व्यवसायीलाई सामान आयात गर्न सजिलो हुन्छ र त्यसको सकारात्मक प्रभाव उपभोक्ताको बजार मूल्यमा पनि पर्छ,' उनले भने।

रसुवामा आएको बाढीपछि चिनियाँ पक्षले तातोपानी नाकाको केही क्षेत्रलाई जोखिमयुक्त अर्थात् ‘हाइ रिस्क’ स्थानका रूपमा हेर्दै भन्सार कारोबार अस्थायी रूपमा रोकेको व्यवसायीहरूको भनाइ छ। लामो समयसम्म नाका प्रभावित भइरहे चीनसँगको व्यापारिक आपूर्ति शृंखलामै असर पर्न सक्ने उनीहरूको चिन्ता छ।

व्यवसायीहरूले अहिलेको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षसँग तत्काल उच्चस्तरीय कूटनीतिक संवाद गरी तातोपानी नाकाबाट नियमित आयात–निर्यातको वातावरण बनाउनुपर्ने माग गरेका छन्।

विशेषगरी चाडपर्वको मुखमा फलफूल, खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले वैकल्पिक व्यवस्थासँगै उत्तरी नाकाहरूलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने उनीहरूको जोड छ।

प्रकाशित: २२ भाद्र २०८३ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App