ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु। गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिँडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ।
वरिपरि नयाँ घर बनिरहेका छन्। वस्ती बाक्लो बन्दै गएपनि एउटा जग्गा खाली छ। त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन्।
तिनै ढुङ्गामाथि दुई वटा चियादानी र एउटा कुकर राखिएको छ। एउटा चियादानीमा पानी उम्लिरहेको छ भने अर्कोमा चिया पाकिरहेको छ। कुकरमा सिट्ठी लागिरहेको छ।
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बेला यहाँ स्थानीयले निःशुल्क रुपमै दैनिक खाना पकाइरहेका छन्।
‘यसरी खाना पकाएको धेरै भयो। खुला जमिनमा २४ घण्टा आगो बलिरहन्छ। यसैमा खाना पकाएर घरमा लगेर खान्छौँ,’ हुम्ला घर भइ लुभु–८ भाडाको घरमा बस्दै आउनुभएकी अनिता जैशीले भने।
घर नजिकै रहेको खाली जग्गामा खेर गइरहेको ग्यासको सदुपयोग गरेको उनी बताउँछन्। निःशुल्क ग्यास सदुपयोगको अनुभव सुनाउँदै उनले भने, ‘बिहान बेलुका दाल, गेडागुडी पकाउँछु। मैले मात्र होइन साँझ र बिहान वरिपरि घर भएका धेरै परिवारले दाल–भात पकाउनुहुन्छ।’
घरमा खाना पकाउन प्रयोग हुने ग्यासजस्तै प्राकृतिक रूपमा निस्किएको ग्यासले स्थानीयको भान्साको काम गरिरहेको छ। भान्सामा मात्र सीमित नभई कतिपयको लागि यो ग्यास आयस्रोतको बाटो पनि बनेको छ।
उनी भन्छन्, ‘हामी साँझबिहान मात्रै पकाउँछौं, एक जना दिदीले त दिनभरि मकै पोलेर राम्रो आम्दानी गर्नुहुन्छ।’
चार जनाको परिवारलाई बिहान बेलुका दाल, भात र तरकारी पकाउन पुग्ने उनको भनाइ छ। राजधानीमै रहेर पनि यो ठाउँमा सरकारको नजर नपुगेको जैशी बताउछन्।
‘बजारमा ग्यास किन्न पनि पाइँदैन। राजधानी सहरमै यस्तो ग्यास छ। थोरै मान्छेलाई वा एक दुई सय परिवारलाई त पुग्ने थियो तर किन सरकारले सदुपयोग नगरेको हो भन्ने लाग्छ’, जैशी भन्छन्।
उनीजस्तै अरू स्थानीय पनि बिहान–बेलुका भाँडाकुँडा बोकेर यही ठाउँमा पुग्छन्। कसैका लागि यो वर्षौदेखिको परिचित ठाउँ हो भने कसैका लागि प्रकृतिले दिएको अनौठो उपहार।
ललितपुर सानागाउँका ५६ वर्षीय बाबुकाजी महर्जन यो ग्यासमा खाना पकाउन आउनेहरूको संख्या समयअनुसार बढिरहेको बताउछन्।
‘घरमा ग्यास किन्नुपर्छ। यहाँ प्रकृतिले दिएको ग्यास छ। यसको राम्रोसँग अध्ययन गरेर प्रयोग गर्न सके स्थानीयलाई ठूलो सुविधा हुन्थ्यो,’ उनी भन्छन्।
महर्जन यो ग्यास ४५ वर्षदेखि खेर गइरहेको सुनाउछन्। बाल्यकालदेखि नै आगो उस्तै बलिरहेको उनको भनाइ छ।
महर्जन थप्छन्, ‘न घाम न पानी, न हुरी न आँधी यो आगो निरन्तर बलिरहेको छ। पहिले यहाँ पूरै घारी थियो, अहिले घर बन्न थालिसके। यसरी ग्यास निरन्तर बलिरहँदा बस्तीका लागि जोखिम पनि भयो नि।’
यही आगोले एउटा ठूलो प्रश्न पनि उठाएको छ—जमिनमुनिबाट निरन्तर निस्किरहेको यो ग्यास आखिर के हो ? यसको मात्रा कति छ ? र यसलाई स्थानीय ऊर्जा स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन ? स्थानीयले वर्षौदेखि प्रयोग गर्दै आए पनि यसको वैज्ञानिक सम्भाव्यताबारे भने पर्याप्त अध्ययन भएको देखिँदैन।
वडाध्यक्ष विश्वराज श्रेष्ठ यसबारेमा विभिन्न संस्थाले अध्ययन गरिसकेको बताउछन्। ‘आगो निस्किएको धेरै भयो। अध्ययन पनि धेरै भयो। तर ग्यास निकाल्न मिल्दैन भन्ने निष्कर्ष सार्वजनिक भए। जग्गा धनी पनि यहाँ छैनन्। त्यही भएर अलि अप्ठ्यारो भएको छ। म यसबारेमा एकपल्ट फेरि खानी तथा भूगर्भ विभागमा बुझ्छु’, उनले भने।
वडाध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा नै लुभुमा ग्यासको सम्भाव्यता र सदुपयोगको लागि पहल गरे पनि अझै केही हुन नसकेको उनको भनाइ छ।
‘हामी आउनुभन्दा अगाडि नै एउटा इँटा कारखाना थियो। त्यसको लागि बोरिङ खन्ने क्रममा यो निस्किएको हो। २०७२ सालको भूकम्पमा चिया पकाउने, खाना पकाउनेको भिड हुन्थ्यो। विभिन्न अध्ययनले व्यावसायिक उत्पादन हुँदैन भनेपछि बन्द गर्न खोजेको त्यो पनि हुँदैन। पाइप राखेर मिलाएका थियौँ। तर मान्छेहरु गएर बिगारिदिन्छन्’, उनले गुनासो गर्दै भने।
खानी तथा भूगर्भ विभागले यहाँको ग्यास स्टोर गर्न नमिल्ने भनेपछि केही नगरेको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ बताउछन्।
‘खानी तथा भूगर्भ विभागमा यसबारेमा पहिले नै कुरा भएको थियो। तर यहाँबाट निस्किएको ग्यास भण्डारण गर्न मिल्ने खालको छैन भनेपछि त्यसै छाडेको हो’, उनले भने।
लुभुको वडा नं ८ मा यो पुरानो आगो भए पनि आसपास बोरिङ खन्दा ग्यास निस्कने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘‘अस्ति पनि डिप बोरिङ गर्दा खोलाको किनारमा ग्यास निस्किएको थियो। यो ठाउँमा किन यस्तो हुन्छ भनेर गहिरो अध्ययन गर्न आवश्यक छ।’
खानी तथा भूगर्भ विभाग, पेट्रोलियम परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार जमिनबाट प्राकृतिक रूपमा ज्वलनशील ग्यास निस्कनु भूगर्र्भीय प्रक्रियासँग सम्बन्धित हुन सक्छ।
कुनै स्थानमा ग्यास बलिरहेको देखिनु मात्रै त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न सकिने पर्याप्त प्रमाण नभएको उनी बताउँछन्।
उनले भने, ‘व्यवसायिक उत्पादन र उत्खनन्का लागि विस्तृत भूगर्भीय अध्ययन, ग्यासको रासायनिक परीक्षण, भण्डारको अनुमान र आर्थिक तथा प्राविधिक सम्भाव्यता अध्ययन आवश्यक हुन्छ।’
विसं २०७२ मा भूकम्प गएपछि काठमाडौं उपत्यकाको धेरै ठाउँमा यस्तो ग्यास निस्किएको उनी बताउछन्।
उनी भन्छन्, ‘बालुवा भएको ठाउँ ठाउँमा पानी सित घुलेर यस्तो ग्यास बसेको हुन्छ। २०७२ सालको भूकम्पमा तलको पानी र बालुवा घुलेर यो ग्यास निस्किएको हो। कुनै ठाउँमा इनार खन्दा यस्तो ग्यास निस्कन्छ। लुभुमा पनि अहिले त्यस्तै ग्यास निस्किएको हुनसक्छ। यो प्राकृतिक भन्दा पनि बायोजेनिक ग्यास हो। दैलेखतिर पाउनेजस्तो थर्मोजेनिक ग्यास चाहिँ होइन।’
बायोजेनिक ग्यास वैज्ञानिक रूपमा प्रयोग गर्न नमिल्ने उनी बताउछन्। पेट्रोलियम परियोजनाका निमित्त प्रमुख खड्का भन्छन्, ‘काठमाडौं उपत्यकाको बाक्लो वस्तीमा भेटिएको बायोजेनिक ग्यास व्यावसायिक रूपमा प्रयोग गर्न मिल्दैन । यसको प्रयोगले समस्या ल्याउँछ।’
यस्तो ग्यास उपत्यकाका विभिन्न ठाउँमा निस्किरहेको उनको भनाइ छ। ‘‘काठमाडौंको टेकुमा पनि निस्किएको थियो। केही समय टेकुमा पनि स्थानीयले उपयोग गरे तर अहिले बन्द छ। कुनै ठाउँमा पहिलेदेखि निस्किएको होला त्यो त हामीलाई भन्दा पनि स्थानीयलाई थाहा हुन्छ।’
खड्काका अनुसार उपत्यकामा कालीमाटी भएको ठाउँ ग्यास उत्सर्जन गर्ने स्रोत हो। त्यहाँँबाट निस्किएको ग्यास बालुवाको माथिल्लो तहमा थोरै थोरै बसेको हुन्छ। कुनै ठाउँमा इनार खन्दा, कुनै ठाउँमा नदी किनार र खोँचहरुमा निस्कन्छ।
अनुसन्धान गर्न स्थानीयको माग
नगरपालिकाले मात्रै होइन, संघीय तहका सम्बन्धित निकायले समेत लुभुको ग्यासको वैज्ञानिक अध्ययन गर्नुपर्ने स्थानीयको माग छ।
बाबुकाजी महर्जन भन्छन्, ‘मैले ४६ वर्षदेखि लगातार ग्यास बलिरहेको देखेको छु। यो ग्यासको अनुसन्धान गरेर उपयोग गर्न सरकारलाई अनुरोध गर्दछु।’
लुभुको जमिनमुनि कति ग्यास छ भन्ने कुरा अहिले अनुमान गर्न सकिँदैन। महर्जन भन्छन्, ‘जमिनबाट निस्किएको ग्यासमा वषौंदेखि स्थानीयको खाना पाकिरहेको छ। यो विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ।’
महालक्ष्मी नगरपालिकाले व्यवसायीक ग्यास उत्पादन गर्न नसके पनि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा संरक्षण गर्न सक्छ।
तर यो विषयमा नगरपालिकाको ध्यान पुगेको देखिँदैन। नगरपालिकाको सानो लापरवाहीले वस्ती बढ्दै जाँदा कहिल्यै ननिभ्ने ग्यासका कारण यो क्षेत्र जोखिममा पर्नसक्ने महर्जनको भनाइ छ।
प्रकाशित: २२ भाद्र २०८३ १३:१४ सोमबार





