२२ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध खर्च जुटाउन युक्रेनको नयाँ योजना, ३० हजार ड्रोन किन्ने लक्ष्य

युक्रेनले रूसविरुद्धको युद्धमा पैसा जुटाउन पोर्नोग्राफीलाई वैधानिक बनाउन विचार गरिरहेको पाइएको छ।

युक्रेनी सांसद यारोस्लाभ झेलेज्नियाकले समर्थन गरेको विधेयकमा देशको पोर्न उद्योगलाई कानुनी अर्थतन्त्रमा ल्याउँदा करबाट दुई करोड ५० लाख डलरसम्म आम्दानी हुन सक्ने उल्लेख छ। द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार युक्रेनी संसद्को वित्त समितिका अध्यक्ष झेलेज्नियाकले यो रकम युद्धका लागि ३० हजारसम्म ड्रोन खरिद गर्न पर्याप्त हुन सक्ने अनुमान गरेका छन्।

पोर्नोग्राफी उत्पादन गर्ने, राख्ने वा वितरण गर्ने काम हाल युक्रेनमा गैरकानुनी छ। यसमा सात वर्षसम्म जेल सजाय हुन सक्छ। तर भ्रष्ट प्रहरीको सहयोगमा पोर्नोग्राफीक सामग्रीको उद्योग सञ्चालन हुने मात्र नभएर तीव्र गतिमा विस्तार पनि भइरहेको पाइएको छ।

युक्रेनी अधिकारीहरूले पछिल्लो समय पोर्नोग्राफीक सामग्री बनाउने व्यक्तिहरूबाट कर लिन थालेका छन्। तर आम्दानी घोषणा गर्ने क्रिएटरले युक्रेनको पोर्नोग्राफीसम्बन्धी कानुनअनुसार अपराध मानिने गतिविधितर्फ प्रहरीको ध्यान तान्ने जोखिम पनि छ।

‘यी महिलाहरूले या त कर तिर्दैनन् र त्यसका लागि आपराधिक आरोप खेप्छन्, वा कर तिर्छन् र पोर्नोग्राफीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लाग्छ,’ युक्रेनी संसद्को वित्त समितिका अध्यक्ष झेलेज्नियाकले भने, ‘यो दुःखद अवस्था हो।’

रूसले पूर्ण स्तरको आक्रमण सुरु गर्नुअघि युक्रेनी अधिकारीहरूले पोर्नोग्राफीक व्यवसायलाई धेरै हदसम्म बेवास्ता गर्दै आएका थिए। युक्रेनी महान्यायाधिवक्ताको कार्यालयले हालै तीन क्षेत्रमा अधिकारीहरूले २० हजार डलरसम्म घुस लिएका घटनाको अनुसन्धान गरेको थियो। 

जानकारी अनुसार सन् २०२३ मा सात हजार ९०० युक्रेनीले ओन्लीफ्यान्समार्फत १३ करोड १० लाख डलरभन्दा बढी कमाएका थिए। तर क्रिएटरबाट कर उठाउने प्रयासले नयाँ समस्या सिर्जना गरेको छ। आफ्नो आम्दानी घोषणा गरेका केही व्यक्तिले पछि कीभबाट कर छली र अवैध रूपमा पोर्नोग्राफीक सामग्री उत्पादन गरेको आरोप लगाउँदै पत्र पाएका थिए।

क्रिएटरका लागि यसको अर्थ आफ्नो आम्दानी घोषणा गरेर सम्भावित रूपमा आफूलाई अभियोजनको जोखिममा पार्ने वा भूमिगत रूपमा काम गरिरहने भन्ने छनोट गर्नुपर्ने अवस्था बनेको छ।

ओन्लीफ्यान्सकी क्रिएटर स्वितलाना ड्भोर्निकोभाका अनुसार एक बिहान उनी आफ्नी छोरीलाई विद्यालयका लागि तयार पार्दै गर्दा प्रहरीले उनको घरमा छापा मारेको थियो। प्रहरीले उनको ल्यापटप, हार्ड ड्राइभ र २० हजार डलर नगद जफत गरेको थियो।

‘उनीहरूसँग वेबक्याम मोडलहरूको सूची थियो र सबैको ठेगाना थाहा थियो,’ ड्भोर्निकोभाले भनिन्। उनका अनुसार प्रहरीले मुद्दा अघि नबढाउन घुस दिने अवसर दिएको थियो। तर उनले अस्वीकार गरिन्।

अर्की एक महिलाले पनि प्रहरीले आफ्नो अपार्टमेन्टमा त्यस्तै तरिकाले खानतलासी गरेको बताइन्। पछि उनलाई अदालतमा बोलाइएको थियो। तर घुस तिर्न दबाब आउन सक्ने डरले उनी अदालत गइनन्।

अनिश्चितताका कारण ड्भोर्निकोभासहित धेरै युक्रेनी ओन्लीफ्यान्स क्रिएटर देश छाडेर युरोपका अन्य देशमा अस्थायी रूपमा बस्न थालेका छन्।

१०० भन्दा बढी ओन्लीफ्यान्स क्रिएटरको प्रतिनिधित्व गरिसकेकी करसम्बन्धी वकिल लेसिया मिखालेन्कोले युद्धका बेला उनीहरूविरुद्ध मुद्दा चलाउनु सरकारी स्रोतको उचित प्रयोग नभएको बताइन्। ‘यो पीडितरहित अपराध हो,’ मिखालेन्को भन्छिन्, ‘देशको रक्षामा ध्यान दिनुपर्ने समयमा यसले कानुनी प्रणालीमा अनावश्यक बोझ थप्छ।’

ड्भोर्निकोभाले आफ्नो मुद्दा युक्रेनी सरकारसमक्ष पनि पुर्‍याइन्। आफूविरुद्ध फौजदारी मुद्दा चलाइएपछि उनले एउटा निवेदन दर्ता गराएकी हुन्। उक्त निवेदन पछि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको वेबसाइटमा प्रकाशित पनि भएको थियो।

आफूलाई ‘इमानदार करदाता’ बताउने ड्भोर्निकोभाले करिब नौ लाख डलर कर तिरिसकेपछि सरकारले आफूलाई अपराधीका रूपमा व्यवहार गर्न नहुने तर्क गरिन्। उनले आफूले तिरेको रकम ‘अग्रपंक्तिमा मारिएका सयौं रूसी’ बराबर भएको दाबी गरिन्। उक्त निवेदनले छोटो समयमै चर्चा पाएको थियो। सोहीकारण एक सातामै २५ हजारभन्दा बढी हस्ताक्षर संकलन भयो।

त्यसपछि जेलेन्स्की संसद्ले पोर्नोग्राफीलाई वैधानिक बनाउने झेलेज्नियाकको प्रस्तावमाथि विचार गर्ने सोचमा पुगेका हुन्। झेलेज्नियाक सह लेखक रहेको विधेयकले जुलाईमा युक्रेनी संसदमा पहिलो पठन पारित गरिसकेको छ। अब यो दोस्रो पठनका लागि पर्खाइमा छ।

प्रकाशित: २२ भाद्र २०८३ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App