भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा तीर्थयात्री (काँवरिया) सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन् ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्डस्थित बाबाधाम गएका तीर्थयात्री सवार ना.६ ख १५५४ नम्बरको बस मालबाहक ट्रक संग ठोक्किएर शुक्रबार बिहान करिब ३ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा गरुडा वडा नम्बर ६ पोठियाही निवासी ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीय रामनाथ जयसवालले बताएका छन् ।
स्थानीय जयसवालका अनुसार दुर्घटनाको खबर गाउँमा आएपछि मृतक तथा घाइतेका आफन्त भारततर्फ शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर गएको छ। आफन्तहरू घटनास्थल तथा अस्पतालतर्फ गएको उनले बताए ।
बसमा करिब ४५ जना तीर्थयात्री बोलबमहरु बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीर जाने क्रममा सतगावाँ क्षेत्रमा बस र मालवाहक ट्रकसँग ठोक्किएर दुर्घटना भएको बुझिएको छ । ट्रकको भारतीय नम्बर भने खुल्न सकेको छैन। ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सतगावाँ थाना प्रमुख बब्लु सिंहले प्रारम्भिक अनुसन्धानका क्रममा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिएको बताएका छन्। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश रौतहटको गरुडा–६ पोठियाहीका बासिन्दा रहेको बताइएको छ। घटनापछि पोठियाही गाउँ शोकमा डुबेको छ भने आफन्तहरू मृतक तथा घाइतेको अवस्थाबारे जानकारी लिन भारततर्फ गएका छन्।
भारतस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायसँग समन्वय गरी मृतकको शव नेपाल ल्याउने र घाइतेको उपचार तथा उद्धार प्रक्रियालाई सहज बनाउनुपर्ने स्थानीयको माग छ।
प्रकाशित: २९ श्रावण २०८३ १५:०१ शुक्रबार





