१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाईयो

सुदूरपश्चिम प्रदेशका पहाडी डाँडाहरुमा जताततै  बिहीबार साँझ आगो दन्किरहेको हेर्नलायक दृष्य देखियो । असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइएको हो । भदौ १ गते ओल्के पर्वका दिन बिभिन्न गाउँ वस्ती भन्दा अलि पर अग्लो डाँडा वा सार्वजनिक स्थानमा झिगडा भनिने बुट्यान,  तथा काढाँका हागाँहरु थुपारेर बनाइएको ‘बुढी’लाई आज असोज सक्रान्तिका दिन पोलेर यो पर्व मनाईने गरिन्छ । विजय उत्सवको रुपमा मनाईने यसै पर्वलाई बुढी पोल्ने अर्थात ‘बन्ढुनी पर्व’ भनिने डडेल्धुराका दलबहादुर बोहराले बताए ।

‘साँझ पर्ने बित्तिकै एकै साथ घर घरबाट आगोको राँखो लगेर डाँडोमा बनाइएको ‘बुढी’लाई पोलेर बन्ढुनी पर्व मनाइएको छ’ उनले भने । घरभित्र र गाईवस्तुको गोठमासमेत राँको घुमाएर बुन्ढीनी पोल्ने चलन रहेको उनले बताए । बुढीपोल्ने पर्व सँगै लुतो, रोगव्याध हट्ने बिश्वास रहेको स्थानीय बताउँछन ।

सुदूरपश्चिम प्रदेशका वस्तीहरुमा बुढी पोल्ने पर्वको रौनकले रमाईलो माहोल बनेको छ ।

काँक्रो चपाएर बलिरहेको बुढीमा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने चलन रहेको स्थानीय बताउँछन ।  

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा प्रत्येक असोज महिनाको १ गते यो पर्व मनाइने गरेको छ ।

भगवान् श्रीकृष्णले राक्षस पुतनालाई मारेको विजय उत्सवका रूपमा पनि यो पर्वलाई मनाउने चलन समेत रहेको स्थानीय बताउछन्।  

परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाहरुले पुतनाको शवदहन गरेको किवदन्ती रहेको उनले बताए ।

द्वापरयुगमा विशाक्त दूध सेवन गराई ज्यान लिने खोजेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेका किवदन्ती छ । बुढी पोलेको दिन आज मिठा परिकार खाने साथै रातभरि देउडा, भुवा तथा नाचगान जस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन रहेको स्थानीय बताउँछन् ।

विभिन्न लोक संस्कृती, परम्परा र मौलिक पर्व लगायतकाले सुदूरपश्चिमको पहिचान भल्काउने गरेको छ । भदौ १ गते मौलिक ओल्के पर्वको शुरु सँगै यस प्रदेशमा मौलिक चाडपर्वको रौनक छाएको छ । करिव ढेड साता याहाँका गाउँ वस्तीमा गौरा पर्व मनाइएको थियो । गौरा पर्वको रौनक नसकिदै आज बुढी पर्व पोल्ने पर्वको उत्साहमा सुदूरपश्चिम झुमेको छ ।

सुदूरपश्चिमको मौलिकता बोकेको बुढी पोल्ने पर्व सुदूरपश्चिबासीको लागी पहिचान झल्काउने महत्वपुर्ण पर्व रहेको स्थानीय बताउछन् ।

रातभर डेउडा, नाचगान र भुवा खेल्ने चलन रहेपनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यो चलनहरु लोप हुँदै गएको स्थानीय बताउछन् ।

प्रकाशित: १ आश्विन २०८३ २०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App