प्रतिनिधिसभा सदस्य बिष्णुबहादुर खड्काले कर्णाली प्रदेश अस्पतालमा जनशक्ति अभाव हुँदा कर्णालीका नागरिकहरुले अत्यावश्यक स्वास्थ्य उपचार नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
संसद्को आकस्मिक समयमा बोल्दै खड्काले दुर्गम कर्णालीका जनताले आफ्नै प्रदेशमा स्वास्थ्य उपचार नपाउने अवस्था रहेको भन्दै आवश्यक जनशक्ति तत्काल पठाउन सरकारसँग माग गरे । उनले दुई वर्षअघिनै क्याथल्याव मेसिन जडान भएको भएपनि कार्डियोलोजिष्ट डाक्टर नहुँदा सञ्चालनमा आउन नसकेको बताए । यस्तै न्यूरोलोजिष्ट डाक्टर नहुँदा कर्णाली प्रदेश अस्पतालमा आएका ९० प्रतिशत विरामीहरुलाई नेपालगञ्ज, काठमाडौं वा भारततर्फ रेफर गर्नुपर्ने बाध्यता रहेको बताए ।
‘कर्णालीमा गरिवी छ, अशिक्षा छ, भूगोल नमिलेको छ, सडक दुर्घटना धेरै हुन्छन्,’ सांसद खड्काले भने, ‘विभिन्न हिमाली क्षेत्रबाट एयर लिफ्ट गरेर पनि विरामी कर्णाली प्रदेश अस्पताल ल्याइन्छ, यहाँ विशेषज्ञ चिकित्सकको अभाव हुँदा विरामीहरु बाहिर पठाउनुपर्ने बाध्यता छ ।’
यस्तै विशेष समयमा बोल्दै सांसद खड्काले मेहलकुना जिल्ला अस्पतालको भवन सातपटक म्याद थप हुँदा पनि अझै पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘५० बेडको अस्पताल बनाउन साढे २१ करोडमा २०७४ पुस २५ गते संझौता भएको थियो,’ उनले भने, ‘२०७७ सालमा निर्माण सम्पन्न भइसक्नुपर्ने भवन सात पटक म्याद थप्दा पनि सम्पन्न भएको छैन् ।’
भवन डिभिजन कार्यालयले यही पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने जानकारी दिएको बताउँदै उनले अस्पतालका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरे ।
स्वास्थ्य सचिवसँग भेट
संसदमा आफ्ना कुरा राखे लगत्तै खड्का स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगेका थिए । त्यहाँ उनले डा. विकास देवकोटासँग भेट गरेर कर्णाली प्रदेश अस्पताल र मेहलकुना अस्पतालमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । भेटका क्रममा प्रदेश अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक तत्काल पठाउन र ५० बेडको मेहलकुना अस्पतालका लागि उपकरणहरुको व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
भेटका क्रममा सचिव देवकोटाले कर्णालीमा विशेषज्ञ चिकित्सक पठाउन आफूले पहल गर्ने बताएका थिए । ‘कर्णाली भन्ने वित्तिकै चिकित्सकहरु पनि जान हिचकिचाउने अवस्था छ,’ भेटका क्रममा उनले भने, ‘कर्णालीलाई पहिलो प्राथमितामा राखेर चिकित्सक पठाउन पहल गर्छु ।’ उनले मेहलकुना अस्पतालको भवन निर्माण सम्पन्न हुने वित्तिकै आवश्यक उपकरण र चिकित्सकको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रकाशित: १ आश्विन २०८३ २०:५४ बिहीबार





