गोरखाको चुमनुब्री गाउँपालिका–६ मा बूढीगण्डकी नदीमा आएको बाढीपछि भेडीगोठमा रहेका पाँचजना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा दुई महिला र तीन पुरुष छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजि लामा, सोही स्थानका ६६ वर्षीया भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा छन्।
प्राधिकरणका अनुसार आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएको थियो। पहिरोका कारण बूढीगण्डकी नदी थुनिएपछि लेदोसहितको ठूलो बाढी आएको थियो। बाढीले भौतिक क्षतिसमेत पुर्याएको प्राधिकरणले जनाएको छ।
बाढीपछि सम्पर्कविहीन भएका पाँचै जनाको अवस्था अझै अज्ञात रहेको छ।
प्रकाशित: २५ आश्विन २०८३ १७:११ आइतबार





