गोरखाको चुमनुब्री गाउँपालिका–६ मा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीमा परी चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उज्लिङस्थित भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा घर, पुल, विद्युत्का पोल, टेलिफोन टावर तथा निर्माणाधीन जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचनासहित आसपासका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरण छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखालाई धादिङसँग जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा परेका छन्। बुढीगण्डकी ३४१ मेगावाट जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको प्राधिकरणले जनाएको छ। बाढीले दुईवटा टेलिफोन टावर र ५० वटा बिजुलीका पोलमा पनि क्षति पुर्याएको छ।
उद्धारका लागि ४३७ सुरक्षाकर्मी परिचालन :
बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम सुरु गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
नेपाली सेनाका चारवटा हेलिकोप्टर खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा खटिएका छन्। सेनाको हेलिकोप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्राधिकरणले जनाएको छ।
इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जनाको प्रहरी टोली तत्काल परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सुरक्षित स्थानमा सारिएको थियो। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
प्रभावित क्षेत्रमा सडक तथा हेलिकोप्टरमार्फत अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। बाढी आउनुको कारण पत्ता लगाउन ड्रोन र भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको छ।
त्यस्तै, अवरुद्ध सडक सञ्चालन तथा बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली प्रभावित क्षेत्रमा खटिएको छ।
गोरखादेखि चितवनसम्म पूर्वसूचना :
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो।
त्यसैगरी, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत जानकारी गराइएको प्राधिकरणले जनाएको छ।
बिहान करिब ६ः३० बजेदेखि प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीको अध्यक्षतामा मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक जारी रहेको छ। बैठकबाट बाढीको निरन्तर अनुगमन, अवस्थाको विश्लेषण, आवश्यक सूचना सम्प्रेषण तथा उद्धार र राहतका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८३ १५:२४ आइतबार





