पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
यद्यपि, ती शवहरूको पहिचान अझै खुलेको छैन। घटनालगत्तै मन्त्री पौडेलले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। काराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर उचाइको ब्रोड पिक हिमालमा गएको हिमपहिरोका कारण विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ लगायत १० आरोही सम्पर्कविहिन भएका हुन्। सोही घटनाप्रति उनले गहिरो चिन्ता व्यक्त गरेका हुन्।
परिस्थितिबारे जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, ‘हामी पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौँ र घटनाबारे लगातार अपडेट लिइरहेका छौँ।’
बेपत्ता हुनेहरूमा नेपालका तर्फबाट छ जना पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा बेपत्ता सूचीमा छन्। यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता छन्।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई हेलिकप्टर र विशेष उद्धार टोलीहरू निरन्तर परिचालन गरिएको छ। अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ।
प्रकाशित: १५ श्रावण २०८३ ११:०२ शुक्रबार





