१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

लमजुङमा बोलेरो दुर्घटना, ७ जना घाइते

लमजुङको दोर्दी गाउँपालिकामा आइतबार बिहान ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

ताजेंबाट सदरमुकाम बेशीशहरतर्फ आउँदै गरेको ग १ ज ७५५५ नम्बरको बोलेरो दोर्दी गाउँपालिका-६, ढुङ्गेखोला (छोटेखोला) स्थित सडक खण्डमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक राजकिशोर शाहका अनुसार बिहान करिब ९:३० बजे जिपको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो।

दुर्घटनालगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।

घाइते हुने सबै दोर्दी गाउँपालिका-६ का स्थानीय बासिन्दा हुन्। उनीहरू सबैलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको छ। घाइतेमध्ये ४४ वर्षीया मैती कुमारी तामाङ, ५८ वर्षीय लाल बहादुर तामाङ र २३ वर्षीय नबिन्द्र घलेको अवस्था मध्यम रहेको छ।

उनीहरुको टाउको, हात र ढाडमा चोट लागेको छ। अन्य चार जना घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले जिपका चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त बोलेरो घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २९ भाद्र २०८२ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App