१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

हेटौंडामा प्रेमीले नै गरेका थिए भारतीय महिलाको ह’त्या, यसरी सुल्झियो ‘केस’

मकवानपुरको हेटौंडास्थित जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको महिलाको शवको रहस्य प्रहरीको एउटा फेसबुक पोस्टले सुल्झाएको छ।

सामाजिक सञ्जालमा राखिएको स्केच र गहनाको आधारमा मृतक महिला भारतको बेतियाबाट हराएकी २२ वर्षीया विवाहित अफ्रिना प्रविन (रुची खातुन) भएको पुष्टि भएको हो।

दाँतको उपचार गर्न भन्दै ६ महिनाकी छोरी लिएर हिँडेकी उनी प्रेमी भनिने भारतीय नागरिक २७ वर्षीय राहुल कुमार गुप्ता (ईश्वर कुमार) सँग चितवनमा भाडामा बसेको र पछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गत साउन २२ गते दिउँसो साढे १ बजे हेटौंडा उप-महानगरपालिका वडा नं. १५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा उनको शव भेटिएको थियो।

पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको स्केच, कपडा, खुट्टाको बिछिया, कानको मुन्द्रा, रातो-हरियो लहठी (बाला) र नाकको फुली फेसबुक पेजमा राखेको थियो।

सोही तस्बिर र विवरणका आधारमा चितवनको भरतपुर महानगरपालिका-३ बेलचोकका एक घरधनीले ती महिला घटना हुनुभन्दा दुई महिनाअघिदेखि राहुल कुमार गुप्तासँग आफ्नो घरमा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीलाई जानकारी दिएका थिए।

त्यसपछि भारतीय प्रहरीको समेत सहयोगमा गरिएको स्थलगत अनुसन्धानमा अफ्रिना गत वैशाख ९ गते भारतको बेतिया बैरिया थाना सरैया भटवलिया वडा नं. ६ स्थित श्रीमानको घरबाट निस्किएको खुलेको थियो। उनी नफर्किएपछि बेतिया प्रहरी थानामा खोजतलासको लागि निवेदनसमेत परेको थियो।

अनुसन्धानका क्रममा अफ्रिनाको हत्यामा राहुलकै संलग्नता देखिएपछि मृतककी आमा फातमा खातुनले गत भदौ ४ गते राहुलविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन्।

वैज्ञानिक परीक्षणका लागि मृतक र उनकी आमा फातमाको डीएनए नमुना परीक्षण गरिएको थियो। डीएनए रिपोर्ट मिलेपछि असोज १६ गते प्रहरीले शव आमालाई बुझाएको छ।

अफ्रिनाको हत्यामा संलग्न मुख्य आरोपित राहुल कुमार गुप्ताविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको छ। उनी हाल अनुसन्धानकै क्रममा भारतको बेतियास्थित कारागार कार्यालयमा थुनामा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८३ १८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App