१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पहिरोमा हराइरहेका दुई जनाको शव भेटियो, तीन घाइते

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका–६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो। फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको थियो।

घर नै बगाउने गरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको मृतक शेर्पाका भतिज पासाङग्याबु शेर्पाले बताए। मैवाखोला गाउँ कार्यपालिका सदस्यसमेत रहेका शेर्पाका अनुसार बुधबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका लाक्पाखाङ्डु र मिङ्मालाकीको शव दिउँसो पहिरो पन्साएर निकालिएको थियो। अस्थायी प्रहरीचौकी फाकुम्बाका इन्चार्ज वरिष्ठ प्रहरी हवल्दार दलबहादुर श्रेष्ठ नेतृत्वको टोली र स्थानीय समेतले पहिरो पन्साएर शव निकाल्ने काम भएको शेर्पाले बताए।

यस्तै सो पहिरोमा परी अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा दारिन्जेन शेर्पा, टासीजाङ्बु शेर्पा र याङ्जी शेर्पा रहेका छन्। उक्त पहिरोका कारण घरपरिवार विस्थापित भएका छन्। मैवाखोलाका कार्यपालिका सदस्य शेर्पाका अनुसार सुरतलाल चौधरी, जिवापासाङ शेर्पा, पासाङग्याबु शेर्पा, निमारिन्जेन शेर्पा र मिङ्मा शेर्पा (कोटे साइँला) को परिवार विस्थापित भएका छन्।

प्रकाशित: २५ भाद्र २०८२ १९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App