४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विश्वसनीय भनिएको बृत्तचित्रले घटनाको गहिराइ देखाउन चाहेन, भावनात्मक प्रचार गर्‍यो : रिजाल

नेकपा (एमाले) का नेता विष्णु रिजालले हालै सार्वजनिक गरिएको बृत्तचित्रप्रति आपत्ति जनाउँदै त्यसले घटनाको गहिराइ नदेखाई भावनात्मक प्रचार गरेको आरोप लगाएका छन्।

भदौ २३–२४ को घटनाबारे बोल्दै उनले सरकारको सामान्य विरोधका लागि ती घटना नभएको बताए। प्रधानमन्त्रीको राजीनामापछि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र अख्तियारको कार्यालयजस्ता संरचनामा आक्रमण वा आगजनी गर्ने कुरा कुनै नेपाली नागरिकले सोच्न नसक्ने उनको भनाइ छ। यस्ता कार्यमा संलग्नहरू राष्ट्रका दुश्मन र अपराधी भएको उनले बताए।

घटनाका क्रममा गोली चल्दा कलिला युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै उनले त्यसलाई अपूरणीय क्षति भने। ती युवालाई पर्दा पछाडि को–को संलग्न थिए भन्ने थाहा नभएको उल्लेख गर्दै उनले घटनाको गहिरो अनुसन्धान हुनुपर्ने बताए।

रिजालले विश्वसनीय भनिएका संस्थाले बनाएको बृत्तचित्रले घटनाको गहिराइमा पुग्न नचाहेको आरोप लगाए। उनका अनुसार आँशु र भावनाको माध्यमबाट एमालेमाथि आक्रमण गर्ने प्रयास भइरहेको छ, जसको अन्तर्य नागरिकले बुझ्नुपर्ने उनले बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सबै नेपाली जनतालाई एक पटक ठण्डा दिमागले सोच्न आग्रह गरे। उनले नेपालका दुई स्थापित राजनीतिक धारमध्ये नेपाली कांग्रेस संकटबाट गुज्रिरहेको दाबी गरे। पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवा आफ्नै पार्टीभित्र अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेको तथा निर्वाचनमा निष्क्रिय रहेको उनको आरोप छ। यस्तो अवस्थामा परिवर्तनको सहयात्री तथा प्रमुख हिस्सेदार एमाले दृढताका साथ चुनावी मैदानमा उत्रिएको उनले बताए। लोकतन्त्र, संविधान र राष्ट्रिय हितका पक्षमा उभिनेहरूका लागि एमाले नै भरपर्दो विकल्प भएको उनको भनाइ छ।

रिजालले आइज्याक न्युटन को गतिसम्बन्धी तेस्रो नियम उद्धृत गर्दै एमालेविरुद्ध भएको घेराबन्दी, प्रचारयुद्ध र आक्रमणको प्रतिवाद स्वाभाविक हुने बताए। देशभक्त र परिवर्तन पक्षधरले यस तथ्यलाई बुझ्नुपर्ने उनले उल्लेख गरे।

नयाँ–पुराना भन्ने भाष्यले इतिहास, बलिदान र त्यागको अवमूल्यन गर्ने दाबी गर्दै उनले लोकप्रियतावादबाट प्रभावित नभई स्थापित र जिम्मेवार दललाई समर्थन गर्न आग्रह गरे। आगामी निर्वाचनमा एमाले नै विश्वसनीय शक्ति भएको उनले निष्कर्ष निकाले।

यस्तो छ रिजालको स्टाटस:

एक पटक ठण्डा दिमागले सोचौँ !

१. नेपालका स्थापित दुई धारका राजनीतिक दलमध्ये नेपाली कांग्रेस संकटबाट गुज्रिरहेको छ। पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवा आफ्नै पार्टीभित्र अन्याय भयो भनेर सर्वोच्च अदालतको शरणमा मात्र पुगेका छैनन्, चुनावमा रुखमा मत हाल्नुपर्ला भनेर मध्यरातमा देश छाडेर हिँडेका छन्। देउवा पक्ष निर्वाचनमा पुरै निस्क्रिय छ। यस्तो बेलामा परिवर्तनको सहयात्री तथा प्रमुख हिस्सेदार नेकपा (एमाले) दृढताका साथ चुनावी मैदानमा छ। सच्चा लोकतन्त्रवादी, संविधान पक्षधर, नेपाल राष्ट्रको हित चाहने र त्यसका लागि बलियो शक्ति चाहिन्छ भनेर विश्वास गर्नेहरुका लागि नेकपा (एमाले) मात्रै भरपर्दो विकल्प बनेको छ।  

२. न्युटनको गतिसम्बन्धी तेस्रो नियमका अनुसार जुन मात्रामा क्रिया उत्पन्न हुन्छ, त्यही मात्रामा बराबर र विपरीत प्रतिक्रिया उत्पन्न हुने गर्दछ। एमालेका विरुद्धमा जुन मात्रामा घेराबन्दी, प्रचारयुद्ध र आक्रमण भएको छ, त्यसका विरुद्धमा त्यही मात्रामा प्रतिवाद हुनु अनिवार्य हुन्छ। यतिबेला हरेक देशभक्त, लोकतन्त्रवादी र परिवर्तन पक्षधरले यस तथ्यलाई बुझ्न आवश्यक छ।  

३. हाम्रा कमजोरी पनि छन, आलोचना पनि स्वीकार छ। तर, भदौ २३–२४ को घटना सरकारको सामान्य विरोधका लागि थिएन। प्रधानमन्त्रीले राजीनामा दिएपछि सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, अख्तियारको कार्यालय जस्ता धरोहर जलाउने कुरा कुनै नेपाली नागरिकले सोच्न पनि सक्दैन। यी राष्ट्रका दुश्मन हुन्, अपराधी हुन्। कुनै जेनजी युवाले यस्तो आपराधिक हर्कत गर्नै सक्दैन। त्यसैले घटना जे भएको थियो, त्यही रुपमा बुझ्नुपर्छ। शासकीय कमजोरी एउटा पक्ष हो। तर, त्यही निहुँमा देश जलाउने छुट कसैलाई छैन।  

४. दुर्भाग्यवश गोली चल्यो, हाम्रा कलिला बच्चाहरुको अमूल्य ज्यान गयो। यो अपुरणीय छ। ती अवोध बच्चालाई पर्दा पछाडि टीओबीधारी, कालोपोशाकधारी र सञ्चालक को थिए भन्ने थाहा थिएन। अहिले भावनाको व्यापार गर्नका लागि जतिसुकै विश्वसनीय भनिएका संस्थाहरुले बृत्तचित्र बनाए पनि यस गहिराइमा उनीहरु पुग्नै चाहँदैनन्। त्यसैले घेराबन्दीले नगसकेको एमालेलाई आँशु र भावनाले आक्रमण गर्ने प्रयासका पछाडिको अन्तर्य नागरिकले बुझ्नुपर्छ।  

५. निरपेक्ष नयाँ र पुरानाका भाष्यले हाम्रो इतिहास, गौरव, बलिदान र त्यागलाई अवमूल्यन गर्दछ। कुनै धरातलमा नउभिएका, होहल्लाका भरमा चर्चामा आएका र कुनै सैद्धान्तिक आधार नभएका शक्तिहरुले सत्तामा जाने मौका पाए भने उनीहरुबाट देशलाई ठूलो खतरा रहन्छ। किनभने, उनीहरु त दुई दिनका पाहुना हुन्, आउँछन्, जान्छन्। तर, देशले ठूलो क्षति बेहोर्छ। त्यसैले नेता बदल्न सकिन्छ, मत पनि बदल्न सकिन्छ। तर, देश बदल्न सकिन्न। हरेक नेपालीले आफ्नो देशलाई माया गर्दछ। त्यसैले लोकप्रियतावादको भुलभुलैयामा नपरी विश्वसनीय, जनताको बीचमा स्थापित र जिम्मेवार दललार्ई छान्नुपर्छ। यस पटकका लागि निःसन्देश एमाले नै त्यस्तो शक्ति हो।

प्रकाशित: १५ फाल्गुन २०८२ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App